फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम-३२ अर्थात् नकआउट चरणको पहिलो खेलमा आइतबार राति दक्षिण अफ्रिका र सह-क्यानडा आमने-सामने हुँदैछन्।
यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बाट शुरु हुनेछ । क्यानडाले इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो।
टोलीका मुख्य मिडफिल्डर इस्माएल कोने यसै विश्वकप दौरान कतारविरुद्धको खेलमा खुट्टा भाँचिएकोले प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले प्रशिक्षक जेसी मार्शले आक्रमणको जिम्मेवारी मुख्य रूपमा जोनाथन डेभिड र साइल लारिनमाथि दिएका छन्।
यद्यपि, क्यानडाको आक्रमण प्रभावशाली देखिए पनि टोलीको रक्षापंक्ति केही कमजोर देखिएको छ । समूह चरणमा क्यानडाले कुल ८ गोल गरेको थियो।
जसमा कतारसँगको खेलमा मात्रै ६ गोल गरेको थियो । त्यसका बाबजुद टोलीले निरन्तर आक्रमण सिर्जना गर्ने क्षमता देखाएको छ । जुन दक्षिण अफ्रिकाविरुद्ध पनि आवश्यक हुनेछ।
उता, प्रशिक्षक ह्युगो ब्रुसको नेतृत्वमा रहेको दक्षिण अफ्रिकाले अपेक्षाविपरीत उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाएको छ।
सन् २०१० मा आयोजक बनेपछि पहिलो पटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै अन्तिम-३२ मा प्रवेश गरेको थियो।
दक्षिण अफ्रिकाका मिडफिल्डर तेबोहो मोक्वेना निलम्बनपछि टोलीमा फर्किएका छन् । जसले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । तर, अर्का अनुभवी खेलाडी थेम्बा ज्वाने भने मेक्सिकोविरुद्धको खेलमा रेड कार्ड यस खेलमा टोलीमा रहने छैनन्।
दुवै टोलीका लागि यो खेल प्रि-क्वार्टरफाइनल प्रवेशको महत्वपूर्ण आधार भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।




