फिफा विश्वकप: स्पेन र अस्ट्रिया प्रि-क्वार्टरफाइनलमा पुग्न भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण अर्थात् अन्तिम ३२ को खेलमा बिहीबार स्पेन र अस्ट्रिया आमने-सामने हुँदैछन् । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा राति १२:४५ बाट शुरु हुनेछ।

युरोपियन च्याम्पियन स्पेन लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुगेको हो । यसपटक पनि टोली विश्वकप उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

स्पेनले समूह एचमा ७ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो । पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४-० र उरुग्वेलाई १-० ले पराजित गरेको थियो।

स्पेनको प्रदर्शन पछिल्ला केही वर्षदेखि निकै उत्कृष्ट रहँदै आएको छ । टोली मार्च २०२४ यता लगातार ३३ खेलमा अपराजित छ । यस अवधिमा स्पेनले २४ खेल जितेको छ भने ९ खेल बराबरी खेलेको छ।

अझ महत्वपूर्ण कुरा, यस विश्वकपमा स्पेनले हालसम्म कुनै पनि गोल खाएको छैन । यता, अस्ट्रियाले सन् १९८२ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको हो।

अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३-१ ले हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो । तेस्रो खेलमा अल्जेरियाविरुद्धको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम क्षणमा बराबरी गर्दै टोलीले अर्को चरणमा स्थान सुरक्षित गर्यो।

अल्जेरियाले इन्जुरी समयमा ९३ औं मिनेटमा गोल गर्दै अस्ट्रियालाई प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुर्याएको थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा सासा कालाज्ड्जिचले इन्जुरी समयको छैटौं मिनेटमा हेडमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा टुंग्याए र अस्ट्रियालाई नकआउट चरणमा पुर्याए।

यद्यपि, अस्ट्रियाको रक्षापंक्ति भने चिन्ताको विषय बनेको छ । समूह चरणका तीन खेलमा उसले कुल ६ गोल खाएको छ, जुन नकआउट चरणमा पुगेका ३२ टोलीमध्ये संयुक्त रूपमा चौथो सबैभन्दा धेरै हो।

स्पेन उत्कृष्ट लय र बलियो रक्षाका साथ मैदानमा उत्रिनेछ भने अस्ट्रिया ऐतिहासिक उपलब्धिलाई अझ अगाडि बढाउने लक्ष्यसहित खेल्नेछ । त्यसैले यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :