इङ्ल्याण्ड पाँचौं पटक टी-२० महिला विश्वकपको फाइनलमा, उपाधिका लागि अस्ट्रेलियासँग भिड्ने

घरेलु मैदानमा जारी महिला टी-२० विश्वकप २०२६ मा इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार बिहान ओभलमा सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ४० रनको जित निकाल्दै इङ्ल्याण्ड पाँचौं पटक विश्वकपको फाइनलमा पुगेको हो।

पहिले ब्याटिङ गर्ने अवसर पाएको इङ्ल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा १६९ रन जोड्यो । टोलीको स्कोर उकास्न कप्तान नट सेभर ब्रन्टले ४७ बलमा ११ चौका र १ छक्कासहित ७५ रनको शानदार इनिङ खेलिन्।

हेन्थर नाइट्सले पनि ४७ बलमा ५८ रनको महत्वपूर्ण योगदान दिइन् । दक्षिण अफ्रिकाका बलरमध्ये शेब्निम इस्माली र नोन्कुल्को मलब्वाले समान २-२ विकेट लिए भने मरिजान कप्पाले १ विकेट हात पारिन्।

१७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रनमै आफ्नो यात्रा टुङ्ग्यायो।

ताजमिन ब्रिट्सले ४५ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन । इङ्ल्याण्डको बलिङ आक्रमणमा लाउरेन बेल र चाल्र्स डेनले समान २-२ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।

सन् २००९ मा आफ्नै भूमिमा आयोजित पहिलो संस्करणको उपाधि जितेको इङ्ल्याण्डले फेरि घरेलु समर्थकमाझ अर्को उपाधि जित्ने सम्भावना कायम राखेको छ।

अब उपाधिका लागि आइतबार इङ्ल्याण्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियाले पहिलो सेमिफाइनलमा वेस्ट इण्डिजलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :