फिफा विश्वकप २०२६: प्रि-क्वार्टरफाइनलको समीकरण पूरा, कुन टिमले कहिले कोसँग खेल्ने?

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ मा नकआउट चरण अर्थात् अन्तिम ३२ का खेलहरु सकिएका छन् । शनिबार बिहानदेखि नकआउट चरणका खेलहरू सकिएसँगै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।

अब, आजदेखि नै जुलाई ७ सम्म प्रत्येक दिन अन्तिम १६ का २-२ खेल हुनेछन् । फ्रान्स, अर्जेन्टिना, स्पेन, ब्राजिल, अमेरिका लगायतका बलिया टोलीहरू उपाधि यात्रालाई निरन्तरता दिन मैदानमा उत्रिनेछन्।

अन्तिम १६ को खेलको विजेता ८ टोली क्वार्टरफाइनल मा प्रवेश गर्नेछन् । जहाँ विश्वकप उपाधिको दौड अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

जुलाई ४ (शनिबार)
मोरक्कोविरुद्ध क्यानडा- ह्युस्टन स्टेडियम
मोरक्कोले अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । यो मोरक्कोको लगातार दोस्रो विश्वकपमा अन्तिम १६ को यात्रा हो।

क्यानडाले दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरण पार गरेको हो । विश्वकप इतिहासमै पहिलो पटक क्यानडा अन्तिम १६ मा पुगेको हो।

फ्रान्सविरुद्ध पाराग्वे- फिलाडेल्फिया स्टेडियम


पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै २०१० पछि पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको छ।

फ्रान्सले स्विडेनलाई ३-० ले हराउँदै सहज रूपमा अर्को चरणमा प्रवेश गरेको हो । फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

जुलाई ५ (आइतबार)
ब्राजिलविरुद्ध नर्वे- न्यु जर्सी स्टेडियम
ब्राजिलले जापानलाई २-१ ले हराउँदै लगातार ११ औं विश्वकपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

नर्वेले आइभरी कोस्टलाई २-१ ले हराउँदै अघि बढेको हो । यस खेलमा नर्वेका एर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरबीचको प्रतिस्पर्धा आकर्षणको केन्द्र हुनेछ।

मेक्सिकोविरुद्ध इंग्ल्यान्ड- मेक्सिको सिटी स्टेडियम
मेक्सिकोले इक्वेडरलाई २-० ले हराउँदै सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट खेल जितेको हो।

इंग्ल्यान्डले डीआर कंगोलाई २-१ ले हराउँदै लगातार आठौं विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको छ।

जुलाई ६ (सोमबार)
स्पेनविरुद्ध पोर्चुगल- डलास स्टेडियम
स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३-० ले हराउँदै प्रभावशाली प्रदर्शन गरेको थियो । स्पेन लगातार तेस्रो विश्वकपमा अन्तिम १६ पुगेको हो।

पोर्चुगलले क्रोएसियालाई २-१ ले हराएको थियो । यस खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत विश्वकप नकआउट चरणमा आफ्नो पहिलो गोल गरेका थिए।

अमेरिकाविरुद्ध बेल्जियम- सियाटल स्टेडियम
अमेरिकाले बोस्निया एण्ड हर्जेगोभिनालाई हराउँदै लगातार दोस्रो विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको हो।

बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो । यी दुई टोली सन् २०१४ को विश्वकपको अन्तिम १६ मा पनि आमनेसामने भएका थिए । जहाँ बेल्जियम विजयी भएको थियो।

जुलाई ७ (मंगलबार)
अर्जेन्टिनाविरुद्ध इजिप्ट- एटलान्टा स्टेडियम


डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरण पार गरेको हो।

कोलम्बियाविरुद्ध स्विट्जरल्यान्ड- भ्यानकुभर स्टेडियम
स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले हराउँदै लगातार चौथो विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको हो।

कोलम्बियाले घानालाई १-० ले पराजित गर्दै सन् २०२२ को विश्वकप गुमाएपछि पुनः अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

अन्तिम १६ का खेल तालिका:
मोरक्कोविरुद्ध क्यानडा- जुलाई ४
फ्रान्सविरुद्ध पाराग्वे- जुलाई ४
ब्राजिलविरुद्ध नर्वे- जुलाई ५
मेक्सिकोविरुद्ध इंग्ल्यान्ड- जुलाई ५
स्पेनविरुद्ध पोर्चुगल- जुलाई ६
अमेरिकाविरुद्ध बेल्जियम- जुलाई ६
अर्जेन्टिनाविरुद्ध इजिप्ट- जुलाई ७
कोलम्बियाविरुद्ध स्विट्जरल्यान्ड- जुलाई ७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :