महिला टी-२० विश्वकप: उपाधिका लागि ६ पटकको च्याम्पियन अस्ट्रेलिया र इङ्ग्ल्यान्ड भिड्दै

आईसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा आइतबार अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच ऐतिहासिक मैदान लर्ड्समा उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति ८:१५ बाट सुरु हुनेछ।

दुवै टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणका सबै पाँच खेल जितेका थिए । त्यसपछि सेमिफाइनलमा पनि प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।

अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई रोमाञ्चक खेलमा पराजित गरेको थियो भने इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकामाथि एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुवै टोली अपराजित रहँदै फाइनल पुगेकाले आजको खेलसँगै कुनै एक टोलीको अपराजित यात्रा भने अन्त्य हुनेछ।

मौसम पूर्वानुमानअनुसार फाइनल खेल वर्षाले प्रभावित हुने सम्भावना निकै कम छ । लन्डनमा आइतबार करिब २८ डिग्री सेल्सियस तापक्रम रहने अनुमान गरिएको छ । पश्चिम-उत्तरपश्चिम दिशाबाट प्रतिघण्टा करिब १३ किलोमिटरको गतिमा हावा चल्नेछ।

आकाश अधिकांश समय सफा रहने र वर्षा हुने सम्भावना केवल २ प्रतिशत मात्र रहेको जनाइएको छ। त्यसैले दर्शकहरूले लर्ड्समा कुनै अवरोधबिना पूरा ४० ओभरको खेल हेर्न पाउने अपेक्षा गरिएको छ।

महिला टी-२० विश्वकपको इतिहासमा अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच हालसम्म ७ पटक भेट भएको छ । तीमध्ये अस्ट्रेलियाले पाँच खेल जितेको छ भने इङ्ग्ल्यान्डले २ खेलमा मात्र सफलता हासिल गरेको छ। इङ्ग्ल्यान्डका दुवै जित सन् २००९ र २०१२ को समूह चरणमा आएका थिए।

यही कारण फाइनलमा अस्ट्रेलियालाई केही बलियो टोलीका रूपमा हेरिए पनि इङ्ग्ल्यान्ड उत्कृष्ट लयमा रहेकाले उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको १० औं संस्करण चलिरहँदा अस्ट्रेलियाले अस्ट्रेलिया कीर्तिमानी आठौं पटक फाइनल खेल्न लागेको हो । यता घरेलु टोली इङ्ल्याण्डले पाँचौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो।

यस्तै, अस्ट्रेलिया महिला टी-२० विश्वकपको सर्वाधिक सफल टोलीको रूपमा समेत परिचित छ । उसले अहिलेसम्म ६ पटक महिला टी-२० विश्वकपको उपाधि जितिसकेको छ । इङ्ग्ल्याण्डले भने अहिलेसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :