फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार राति हुने प्रि-क्वार्टरफाइनल खेलमा सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ।
खेल न्यूयोर्क-न्यु जर्सी स्टेडियममा नेपाली समयअनुसार राति १:४५ बाट शुरु हुनेछ । लगातार नवौं पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्यमा रहेको ब्राजिलका लागि नर्वे ठूलो चुनौतीको रुपमा हेरिएको छ।
विश्व फुटबलको इतिहासमा ब्राजिलले अहिलेसम्म नर्वेलाई कुनै पनि खेलमा पराजित गर्न सकेको छैन। ब्राजिलले अन्तिम ३२ मा जापानविरुद्ध शानदार पुनरागमन गर्दै २-१ को जित निकालेको थियो।
पहिलो हाफमा १-० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । उक्त खेलको इन्जुरी समयको छैटौं मिनेटमा गाब्रिएल मार्टिनेलीले गरेको निर्णायक गोल ब्राजिलको विश्वकप इतिहासकै नियमित समयमा आएको सबैभन्दा ढिलो विजयी गोल बनेको थियो।
जापानविरुद्ध दोस्रो हाफमा ब्राजिल पूर्ण रूपमा हावी बनेको थियो । उसले ११-१ को अनुपातमा प्रहार गर्दै दुई गोल गरेको थियो । यही आत्मविश्वास र लयलाई नर्वेविरुद्ध पनि कायम राख्ने ब्राजिलको लक्ष्य रहनेछ।
यता, नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै विश्वकप नकआउट चरणमा पहिलो ऐतिहासिक जित दर्ता गरेको थियो । खेलको ८६ औं मिनेटमा एर्लिङ हालान्डले गरेको निर्णायक गोलले नर्वेलाई अन्तिम १६ मा पुर्याएको थियो।
नर्वे टोली २८ वर्षपछि विश्वकपको मैदानमा फर्किएको हो। आफ्नो पहिलो विश्वकप खेलिरहेको हालान्ड उत्कृष्ट फर्ममा छन् । उनले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध विश्राम पाए पनि हालसम्म तीन खेलमा ५ गोल गरिसकेका छन् । त्यसैले ब्राजिलविरुद्ध पनि नर्वेको सबैभन्दा ठूलो भरोसा उनैमाथि हुनेछ।
दुवै टोलीमा विश्वस्तरीय खेलाडीहरूको उपस्थितिका कारण यो खेल विश्वकपको अन्तिम १६ कै सबैभन्दा आकर्षक र प्रतिस्पर्धात्मक भिडन्तमध्ये एक हुने अपेक्षा गरिएको छ।




