अस्ट्रेलियाले अपराजित प्रदर्शनलाई निरन्तरता दिँदै आईसीसी महिला टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै अस्ट्रेलिया कीर्तिमानी सातौं पटक च्याम्पियन बनेको हो। इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी रहँदा ३ विकेट मात्र गुमाएर पूरा गर्यो।
उसका लागि बेथ मूनीले सर्वाधिक ६४ रन बनाइन् भने फोबे लिचफिल्डले ४८ रनको महत्वपूर्ण योगदान दिइन् । इंग्ल्यान्डका चार्लोट डिन, लाउरेन बेल र सोफी एक्लेस्टोनले समान १-१ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन जोडेको थियो।
कप्तान नाट सिभर ब्रन्ट ५८ रनमा अविजित रहिन् भने फ्रेया केम्पले अविजित ४४ रन बनाएर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएकी थिइन्।
अस्ट्रेलियाका किम गार्थ, लुसी हामिल्टन, कप्तान सोफी मोलिनक्स र एनाबेल सदरल्यान्डले समान १-१ विकेट लिएकी थिइन्।
समूह चरणका पाँचवटै खेल जितेको अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।




