विश्व फुटबलमा पुनः आफ्नो पुरानो लय समात्ने संकेत दिएको स्पेनले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको डलासस्थित स्टेडियममा सोमबार राति सम्पन्न अन्तिम १६ को खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेनले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक बनेको खेलको नतिजा दोस्रो हाफको इन्जुरी समयमा तय भयो । अतिरिक्त समयको पहिलो मिनेटमा फेरान टोरेसको सटीक पासलाई मिकेल मेरिनोले गोलमा परिणत गरेपछि स्पेनले निर्णायक अग्रता बनाएको थियो । मेरिनोको यही गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्यो।

खेलभर बल नियन्त्रण, अवसर सिर्जना र गोलतर्फका प्रहारमा स्पेन पोर्चुगलभन्दा प्रभावशाली देखिएको थियो । पोर्चुगलले बराबरी फर्काउने प्रयास गरे पनि सफल हुन नसक्दा यस संस्करणको विश्वकप यात्रा अन्तिम १६ चरणमै टुंगिएको छ।
यसअघि सन् २०२२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको पोर्चुगल यसपटक भने त्यो उपलब्धि दोहोर्याउन असफल रह्यो।
यता, स्पेनका लागि भने यो जित ऐतिहासिक पुनरागमनको संकेत बनेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेपछि पहिलो पटक टोलीले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।
त्यसयता सन् २०१४ मा स्पेन समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ दुवै विश्वकपमा अन्तिम १६ चरणमै रोकिएको थियो । १६ वर्षपछि पुनः अन्तिम ८ मा पुग्दै स्पेनले उपाधि दौडलाई निरन्तरता दिएको छ।




