फिफा विश्वकप २०२६ मा आयोजक राष्ट्रहरूको यात्रा अन्तिम १६ चरणमै समाप्त भएको छ । सह-आयोजक अमेरिका, मेक्सिको र क्यानडा तीनै टोली नकआउट चरणबाट बाहिरिएसँगै यसपटक आयोजक देशमध्ये कुनै पनि टोली क्वार्टरफाइनलसम्म पुग्न सकेन।
घरेलु समर्थकको साथ पाएको अमेरिकालाई मंगलबार बिहान सियाटल स्टेडियममा बेल्जियमले ४-१ ले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । यससँगै बेल्जियमले सन् २०२२ को समूह चरणबाटै बाहिरिएको निराशा बिर्साउँदै ८ वर्षपछि पुनः विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गर्दा हान्स भानकेन र रोमेलु लुकाकुले समान १-२ गोल थपे । अमेरिकाका लागि मलिक टिलम्यानले फ्रिकिकमार्फत १ मात्र गोल फर्काए।

खेलको सुरुआती नौ मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । अमेरिकाले ३१ औं मिनेटमा टिलम्यानको उत्कृष्ट फ्रिकिकमार्फत खेल १-१ को बराबरीमा ल्याए पनि त्यो खुसी धेरै बेर टिकेन । त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि अघि बढाए । दोस्रो हाफको ५७ औं मिनेटमा भानकेनले गोल थपेपछि बेल्जियमले खेलमा स्पष्ट नियन्त्रण कायम गर्यो । इन्जुरी समयमा लुकाकुले अर्को गोल गर्दै ४-१ को सहज जित सुनिश्चित गरे।
यो हारसँगै अमेरिका २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई हराउँदै तथा टर्कीसँग पराजित भए पनि समूह विजेताका रूपमा अघि बढेको अमेरिकाले अन्तिम ३२ मा बोस्निया एण्ड हर्जगोभिनालाई हराएर अन्तिम १६ मा स्थान बनाएको थियो । तर, बेल्जियमको चुनौती पार गर्न सकेन।

अर्का आयोजक मेक्सिको पनि अन्तिम १६ मै रोकियो । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकमाथि लगातार जित निकाल्दै अपराजित रूपमा नकआउटमा पुगेको मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई पराजित गरेको थियो । तर, अन्तिम १६ मा इंग्ल्यान्डसँग पराजित भएपछि उपाधि यात्राले पूर्णविराम पायो।
क्यानडाले भने इतिहास रच्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको थियो । समूह चरणमा एक जित, एक बराबरी र एक हारको नतिजासहित अघि बढेको क्यानडाले अन्तिम ३२ मा दक्षिण अफ्रिकालाई पराजित गर्दै नयाँ उपलब्धि हासिल गरेको थियो । तर, अन्तिम १६ मा मोरक्कोसँग पराजित भएपछि क्यानडाको अभियान पनि त्यहीं समाप्त भयो।
यसरी विश्वकप २०२६ को नकआउट चरणमा आयोजक राष्ट्रहरूको चुनौती एकपछि अर्को गर्दै समाप्त भएको छ भने बेल्जियमले प्रभावशाली प्रदर्शनसँगै उपाधि दौडलाई थप मजबुत बनाएको छ।




