काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सोमबार सम्पन्न मिनी अक्सनबाट ८ फ्रेन्चाइजले आफ्नो टोलीलाई थप बलियो बनाएका छन् ।
काठमाडौंमा आयोजित अक्सनमा सूचीकृत १५५ खेलाडीमध्ये ५२ जनाले मात्र विभिन्न टोलीमा आबद्ध हुन सफल भएका हुन् । यस पटकको अक्सनमा सबैभन्दा बढी आकर्षण राष्ट्रिय टोलीका विकेटकिपर ओपनर आसिफ शेखमाथि देखियो।
चितवन राइनोज बाहेक अन्य सातै टोलीले उनलाई अनुबन्ध गर्न अधिकतम रकमसम्म बोली लगाएपछि निर्णय ‘लक्की ड्र’ बाट गरिएको थियो । त्यसमा लुम्बिनी लायन्स भाग्यमानी बन्दै २० लाख रुपैयाँमा आसिफलाई आफ्नो टोलीमा आबद्ध गराउन सफल भयो।
लगातार दुई संस्करणसम्म मार्की खेलाडी रहेका आसिफलाई यसपटक जनकपुर बोट्सले रिलिज गरेपछि उनी अक्सनमार्फत नयाँ टोलीमा पुगेका हुन्।
अघिल्लो संस्करण चोटका कारण गुमाएका विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्तीले पनि अधिकतम १५ लाख रुपैयाँमा नयाँ टोली पाए।
एकभन्दा बढी फ्रेन्चाइजले समान मूल्यमा बोली लगाएपछि ‘लक्की ड्र’ मार्फत विवेक चितवन राइनोज, रुपेश विराटनगर किंग्स, तृतराज जनकपुर बोट्स तथा अर्जुन घर्ती पोखरा एभेन्जर्समा आबद्ध भए।
यता, चर्चामा रहेका केही खेलाडी भने यसपटक कुनै पनि टोलीको रोजाइमा पर्न सकेनन् । सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दिपेश कँडेललगायतका खेलाडी अक्सनमा अनसोल्ड बने।
कुन टिमले कस्लाई- कतिमा किने त?












