फिफा विश्वकप २०२६: क्वार्टरफाइनलमा पुग्न अर्जेन्टिनाले इजिप्टसँग खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले मंगलबार इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अमेरिकाको एटलान्टा स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बाट शुरु हुनेछ।

अर्जेन्टिना लगातार छैटौं पटक विश्वकपको अन्तिम १६ मा पुगेको हो । यद्यपि यसपटक उसको यात्रा अपेक्षाजस्तो सहज भने रहेन।

राउन्ड अफ ३२ मा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेविरुद्ध अर्जेन्टिनाले अतिरिक्त समयमा कठिन जित निकाल्दै अर्को चरणमा स्थान बनाएको थियो।

यस जितसँगै अर्जेन्टिनाले लगातार ११ खेल जित्ने आफ्नो नयाँ टोली कीर्तिमान बनाएको थियो । साथै विश्वकपमा लगातार १० खेलमा अपराजित रहने कीर्तिमान पनि बराबरी गरेको छ।

टोलीले विश्वकपका लगातार १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्दै अर्को उल्लेखनीय उपलब्धि पनि हासिल गरेको छ । टोलीका कप्तान लियोनल मेस्सी उत्कृष्ट लयमा छन्।

केप भर्डेविरुद्ध गोल गरेपछि उनले यस विश्वकपमा अर्जेन्टिनाका कुल ११ गोलमध्ये ७ गोल आफ्नै नाममा गरिसकेका छन्।

यता इजिप्टले भने इतिहास रचेको छ । उसले पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टले राउन्ड अफ ३२ मा अष्ट्रेलियालाई १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा हराएको थियो।

इजिप्टले यस प्रतियोगितामा न्युजिल्यान्डलाई ३-१ ले हराएको बाहेक अन्य तीन खेल १-१ को बराबरीमा टुंगिएका थिए ।

केप भर्डेविरुद्ध कठिन अनुभवबाट पाठ सिकेको अर्जेन्टिना यस खेलमा अझ सशक्त प्रदर्शन गर्ने सम्भावना छ । त्यसैले अर्जेन्टिना स्पष्ट जितको दाबेदार मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :