काठमाडौं । कालभैरब स्पोर्ट्स एकेडेमीको आयोजनामा उसु सान्डा प्रो च्याम्पियनसिप-२०८३ भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न भएको छ।
प्रतियोगितामा ६ वटा सान्डा प्रो इभेन्ट तथा १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट सान्डा फाइट सम्पन्न भएका थिए। विजेता खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।
महिला ५२ केजी तौलसमूहको मुख्य प्रतिस्पर्धामा रेस्मा बोलनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन् । पुरुष ५२ केजी मुख्य प्रतिस्पर्धामा सुशान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्डमा पराजित गर्दै च्याम्पियन बने।

अन्य सान्डा प्रो इभेन्टतर्फ पुरुष ४८ केजीमा ओमप्रकाश कोहोलीले बिबेक बिकेलाई नकआउट गर्दै उपाधि जिते । महिला ४८ केजीमा सृजना बिसीले सोनी तामाङलाई पराजित गरिन्। पुरुष ४५ केजीमा सम्राट थापाले कडा प्रतिस्पर्धापछि मिरक लिम्बुलाई हराउँदै जित निकाले । पुरुष ४२ केजीमा विशाल रानाले उत्सव पुरीलाई पराजित गर्दै विजेता बने।
आयोजकका अनुसार प्रतियोगिताले उसु सान्डा खेलको प्रवर्द्धनसँगै नयाँ खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।




