डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा शानदार पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित रंगशालामा मंगलबार राति सम्पन्न रोमाञ्चक खेलमा ७९ औं मिनेटसम्म दुई गोलले पछाडि परेको अर्जेन्टिनाले अन्तिम क्षणमा लगातार तीन गोल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
इजिप्टले सुरुआतदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको १५ औं मिनेटमा यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६७ औं मिनेटमा हाइसेम हसनको पास सदुपयोग गर्दै मोस्तफा जिकोले दोस्रो गोल थपेपछि इजिप्ट जित नजिक पुगेको देखिएको थियो।
तर, अन्तिम ११ मिनेट खेलको चित्र नै बदलियो । ७९ औं मिनेटमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे । त्यसको पाँच मिनेटपछि मेस्सी स्वयंले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्कोतर्फ, उत्कृष्ट प्रदर्शनका बाबजुद इजिप्टको विश्वकप यात्रा यही चरणमा समाप्त भएको छ।
इजिप्टका लागि भने यो संस्करण ऐतिहासिक रह्यो । टोलीले ९२ वर्षपछि पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको थियो । यसपटक नकआउटमा पहिलो जितको इतिहास पनि रचेको इजिप्ट अन्ततः अर्जेन्टिनासँगको नाटकीय हारपछि बाहिरियो।
यस खेलले लियोनल मेस्सीको नाममा थप धेरै कीर्तिमान पनि लेखाएको छ । इजिप्टविरुद्ध गोल गरेसँगै उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने उपलब्धि हासिल गरेका छन् । विश्वकप इतिहासमा सर्वाधिक ३१ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा सबैभन्दा धेरै ६ पटक विश्वकप खेल्ने खेलाडीको कीर्तिमान पनि मेस्सीकै नाममा रहेको छ।

यसबाहेक, मेसी विश्वकप इतिहासमा लगातार ६ वटा नकआउट चरणका खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने नयाँ कीर्तिमान पनि कायम गरेका छन्। जारी विश्वकपमा ८ गोलसहित उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
यद्यपि, व्यक्तिगत उपलब्धिसँगै एउटा दु:खद रेकर्ड पनि मेस्सीको नाममा थपिएको छ । उनले यस विश्वकपमा दोस्रो पटक पेनाल्टी खेर फाले । यसअघि समूह चरणमा अष्ट्रियाविरुद्ध पेनाल्टी गोलमा परिणत गर्न नसकेका मेस्सीले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सकेनन्।




