स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ मा ७२ वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाएको छ । क्यानडाको बिसी प्लेस, भ्यानकुभरमा मंगलबार राति सम्पन्न अन्तिम १६ को खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्विस टोली क्वार्टरफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । तनावपूर्ण सुटआउटमा कोलम्बियाका दुई खेलाडीले अवसर गुमाउँदा स्विट्जरल्यान्डले ऐतिहासिक सफलता हात पार्न सफल भयो।
कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीलाई गोलमा परिणत गरे । तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल हुँदा टोली विश्वकपबाट बाहिरिन बाध्य बन्यो।
स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए। म्यानुअल अकांजीले भने पेनाल्टीमा गोल गर्न सकेनन्।
सन् १९५४ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्ड विश्वकपमा १३ औं सहभागिताका क्रममा चौथो पटक अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । यसअघि टोली पटक-पटक समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो।
अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको चुनौती सामना गर्नेछ। यता दोस्रो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य राखेको कोलम्बियाको अभियान भने अन्तिम १६ मै टुंगिएको छ।




