फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा मंगलबार राति फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल डलास स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बाट शुरु हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
फ्रान्सले यस विश्वकपमा हालसम्म खेलेका सबै ६ खेल जितेको छ । टोली अपराजित रहँदै सेमिफाइनल पुगेको हो। यदि स्पेनलाई हराउन सफल भयो भने फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो टोली बन्नेछ।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे प्रतियोगिताका सबैभन्दा उत्कृष्ट खेलाडी बनेका छन् । उनले ६ खेलमा ८ गोल गरेका छन् । जुन प्रतियोगिताकै सर्वाधिक गोल हो ।
यससँगै उनले लगातार दुई विश्वकपमा कम्तीमा ८-८ गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन्। विश्वकप इतिहासमा उनका कुल गोल संख्या २० पुगेको छ। जुन लियोनेल मेस्सीसँग बराबरी हो।
यस्तै, पहिलो पटक विश्वकप खेलिरहेका माइकल ओलिसे ले ६ खेलमा ६ असिस्ट दिएका छन् । उनी एकै विश्वकपमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गर्न केवल एक असिस्ट टाढा छन्।
स्पेनले फ्रान्सजस्तो सहज जित हासिल नगरे पनि कठिन खेलहरू जित्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।
समूह चरणमा साउदी अरेबियालाई ४-० र राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले हराएको स्पेनका अन्य सबै जित एक गोलको अन्तरमा आएका छन् । तीमध्ये दुई खेल ८५ औं मिनेटपछि र एउटा खेल इन्जुरी समयमा गोल गर्दै जितिएको थियो।




