जापानलाई हराउँदै नेपाल महिला यू-१९ एसिया कपमा छनोट

काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले महत्वपूर्ण सफलता हात पारेको छ।

क्वार्टरफाइनल चरणको खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो।

वाइएसडि युकेएम ओभलमा बुधबार भएको खेलमा जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले सहज रूपमा पछ्याउँदै ११.२ ओभरमै केवल १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर सावित्री धामीले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३२ बलको सामना गर्दै ४२ रन बनाएर अविजित रहँदै टोलीलाई जितसम्म पुर्याइन्।

कप्तान सोनी पाख्रिनले पनि संयमित इनिङ खेल्दै २२ बलमा अविजित १८ रन जोडिन् । यसअघि ओपनिङमा आएकी साना प्रविनले १८ रनको योगदान दिँदै आउट भइन्।

यसअघि टस जितेर नेपालले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको जापानले निर्धारित २० ओभरको अन्तिम बलसम्म संघर्ष गर्दै ८६ रन मात्र बनाउन सक्यो । जापानका लागि बिन्का सानोले ५७ बलमा अविजित ३८ रन बनाएर टोलीको स्कोर उकास्ने प्रयास गरिन्।

नेपालको बलिङतर्फ रिया शर्मा र कृष्मा गुरुङले समान २-२-२ विकेट लिए । त्यस्तै कप्तान सोनी पाख्रिन, अनु कडायत र मनिषा उपाध्यायले समान १-१ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :