फिफा विश्वकप २०२६: दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्दै

फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति १२:४५ बाट शुरु हुनेछ।

दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने भएकाले यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । इंग्ल्यान्डले यस विश्वकपमा धेरै खेल सहज रूपमा जित्न सकेको छैन।

उसले खेलेका ६ खेलमध्ये दुई खेलमा मात्र एकभन्दा बढी गोलको अन्तरले जित निकालेको छ । नकआउट चरणका सबै खेलमा पनि एक गोलको अन्तरले मात्र जित्दै सेमिफाइनलसम्म पुगेको हो।

टोलीका मुख्य प्रशिक्षक थोमस टुचेलले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दै आएका छन् । यही मानसिक दृढता र अन्तिमसम्म हार नमान्ने स्वभावका कारण इंग्ल्यान्ड चौथोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।

कप्तान ह्यारी केन र युवा स्टार जुड बेलिङ्घम उत्कृष्ट लयमा छन् । यी दुईले मात्र नकआउट चरणमा ७ गोल गरेका छन् । जसले टोलीलाई ठूलो बल दिएको छ।

अर्जेन्टिनाले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै खेलमा सहज जित निकालेको थियो । तर, नकआउट चरणमा भने प्रत्येक खेल निकै कठिन बन्यो । उसले केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई निकै कठिन संघर्षपछि हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

टोलीका कप्तान लियोनेल मेस्सी शानदार लयमा छन् । उनले यस विश्वकपमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका किलियन एमबाप्पेसँग बराबरी गरेका छन्।

साथै उनले विश्वकपका धेरै ऐतिहासिक कीर्तिमान पनि बनाएका छन् । यस खेलको सबैभन्दा ठूलो आकर्षण लियोनेल मेस्सी र इंग्ल्यान्डको मिडफिल्डबीचको प्रतिस्पर्धा हुनेछ।

मेस्सीले यस प्रतियोगितामा ८ गोल गर्नुका साथै २१ असिस्ट गरेका छन् । अर्जेन्टिनाको आक्रमण प्रायः मेस्सीबाट सुरु हुने भएकाले उनी स्वतन्त्र रूपमा खेल्न पाए इंग्ल्यान्डलाई ठूलो दबाब पर्न सक्छ।

यता इंग्ल्यान्डका जुड बेलिङ्घमको नेतृत्वमा रहेको मिडफिल्ड निकै आक्रामक छ । २३ वर्षीय जुड बेलिङ्घम इंग्ल्यान्डका सबैभन्दा प्रभावशाली खेलाडी बनेका हुन् । उनले मेक्सिको र नर्वेविरुद्ध लगातार दुई खेलमा २-२ गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

विश्वकपको एउटै संस्करणको लगातार दुई नकआउट खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा उनी सन् १९८६ मा डिएगो म्याराडोनापछि पहिलो खेलाडी बनेका छन्।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ । त्यही वर्ष इंग्ल्यान्डले पहिलो तथा अहिलेसम्मको एकमात्र विश्वकप उपाधि जितेको थियो।

यो विश्वकप लियोनेल मेस्सीको अन्तिम विश्वकप प्रतियोगिता हो । सेमिफाइनल वा फाइनल, अब उनले विश्वकपमा अधिकतम दुई खेल मात्र खेल्ने छन्।

मेस्सीले यसअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाइसकेका छन् र विश्वकप इतिहासका सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडीमध्ये एकका रूपमा आफ्नो नाम स्थापित गरिसकेका छन्।

अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ, के मेस्सीले आफ्नो अन्तिम विश्वकप दोस्रो उपाधिसहित सम्झनलायक बनाउनेछन्? वा इंग्ल्यान्डले उनको विश्वकप यात्राको अन्त्य गर्दै ६० वर्षपछि फेरि फाइनलमा स्थान बनाउनेछ?

दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र विश्व फुटबलका समर्थकका लागि अविस्मरणीय हुने अपेक्षा गरिएको छ । यस खेलको विजेताले फाइनलमा स्पेनसँग भिड्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :