इंग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले १ गोलले पछि परेको अवस्था उल्टाउँदै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

एटलान्टा स्टेडियममा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो संस्करणको फाइनलमा पुग्न सफल भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले दोस्रो हाफमा अग्रता लिएको थियो । ५५ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्लिस टोलीलाई १-० को अवस्थामा पुर्याएका थिए।

त्यसपछि जित नजिक पुगेको इंग्ल्यान्डले अन्तिम समयसम्म अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । अर्जेन्टिनाको पुनरागमन ८५ औं मिनेटमा सुरु भयो।

कप्तान लियोनल मेस्सीले मिलाएको पासलाई एन्जो फर्नान्डेजले डिबक्सबाहिरबाट आकर्षक प्रहार गर्दै गोलमा परिणत गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै पासमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै तीन पटकको विश्वविजेता अर्जेन्टिना इतिहासमा सातौं पटक विश्वकपको फाइनलमा पुगेको छ।

सन् २०२२ को उपाधि विजेता अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यलाई थप बलियो बनाएको छ । यता, सन् १९६६ पछि दोस्रो विश्वकप उपाधिको प्रतीक्षामा रहेको इंग्ल्यान्ड भने फेरि सेमिफाइनलबाटै बाहिरिएको छ।

विश्वकप इतिहासमा इंग्ल्यान्डले सेमिफाइनल चरणमा भोगेको यो तेस्रो हार हो । अब विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :