फिफा अध्यक्ष इन्फान्टिनोले गल्ती स्वीकार्दै मागे माफी, पदमा कायमै रहने

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने विवादास्पद योजनासम्बन्धी आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । यद्यपि, फिफाका वरिष्ठ कार्यकारीहरूको समर्थन पाएपछि उनी अध्यक्ष पदमै कायम रहने भएका छन्।

बुधबार मोरक्कोको राजधानी रबातस्थित फिफाको अफ्रिका कार्यालयमा भएको व्यवस्थापन बोर्डको बैठकपछि फिफाले जारी गरेको वक्तव्यमा बोर्डले इन्फान्टिनोप्रति पूर्ण समर्थन व्यक्त गरेको जनाएको थियो।

इन्फान्टिनोले फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नामक नयाँ सहायक संस्था स्थापना गरी पुरुष र महिला विश्वकपसहितका प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए।

यस योजनालाई समर्थन गरे प्रत्येक सदस्य राष्ट्रलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव पनि गरिएको थियो । तर, यो योजना पर्याप्त छलफल र पारदर्शिताबिना अघि बढाइएको भन्दै व्यापक आलोचना भएपछि अन्ततः रद्द भएको थियो।

बैठकपछि इन्फान्टिनो र फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद् सदस्य तथा २११ सदस्य राष्ट्रलाई संयुक्त पत्र पठाउँदै भनेका छन्, ‘हामीबाट भएका गल्तीप्रति हार्दिक क्षमायाचना गर्दछौं र यस्ता गल्ती फेरि नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दछौं।’

फिफाले पनि योजनाको प्रक्रिया सही ढंगले सञ्चालन हुन नसकेको स्वीकार गर्दै परिषद् र सदस्य राष्ट्रहरूले आफूहरूलाई प्रक्रियाबाट बाहिर राखिएको महसुस गर्नु उचित भएको जनाएको छ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले यस योजनालाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौता भन्दै इन्फान्टिनोमाथिको विश्वास गुमाएको जनाएको थियो । यूईएफएले फिफाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले यसअघि कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यो घटना दुःखद र निन्दनीय भएको बताएका थिए । तर, बैठकपछि उनीसहित व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति पुनः पूर्ण समर्थन जनाएको छ।

यसैबीच, इन्फान्टिनोले मोरक्कोलाई समर्थनको बदलामा २०३० विश्वकपको फाइनल आयोजना गर्ने वाचा गरेको भन्ने समाचार पनि सार्वजनिक भएको थियो।

तर, फिफाले उक्त दाबीलाई झूटो र भ्रामक भन्दै अस्वीकार गरेको छ । फिफाका अनुसार २०३० विश्वकपको फाइनल कहाँ हुनेछ भन्ने निर्णय उचित समयमा गरिनेछ।

यति धेरै विवाद र आलोचनाका बीच पनि इन्फान्टिनो फिफाको चौथो कार्यकालका लागि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

फिफा अध्यक्ष पदका उम्मेदवारले १८ नोभेम्बरसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ भने निर्वाचन मार्च २०२७ मा मोरक्कोमा हुने फिफा कांग्रेसमा हुनेछ । फिफाका २११ सदस्य राष्ट्रमध्ये कम्तीमा १०६ मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :