२० औं एसियाडमा स्वर्णसहित दोहोरो पदक जित्ने ‘भद्दा मजाक’ मात्रै

श्रीविक्रम भण्डारी

एउटा नेपाली चर्चित उखान छ ,‘नानीको खुट्टी देखेरै चाल पाईयो।’ राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २० औं एसियाली खेलकुद (एसियाड) का लागि छनौट गरेका २२ खेलहरुलाई मध्यनजर गर्दा माथिको उखान ठ्याक्कै लागु हुन्छ । औंलामा गन्न सकिने एक, दुई खेललाई सम्भावित पदक जित्ने खेलको श्रेणीमा राख्न सकिने भए पनि अन्य खेलबाट कुनै आशा गर्न सकिदैन । यसर्थमा कि बाँकी खेलहरुले अहिलेसम्म एशियाडमा पदक जित्न त परै जाओस् सन्तोषजनक प्रदर्शन समेत गर्न सकेका छैनन् । यस्तोमा, राखेपले कुन आधारमा ति खेलहरुलाई एसियाड जस्तो महत्वपूर्ण प्रतियोगितामा समावेश गर्यो ? त्यो अहिले चर्चाको विषय मात्रै नभई राखेपको कमजोर व्यवस्थापन र अदूरदर्शीतालाई उजागर गरिदिएको छ । अन्यथा राखेपले ‘मिसन २०२६’ लाई मध्यनजर गर्दै खेलहरु किन छनौट गरेन ? गम्भिर प्रश्न खडा भएको छ । ‘मिसन २०२६’ को मियो के हो ? स्वर्ण पदक सहित दोहोरो संख्यामा पदक । तर, एसियाडका लागि छनौट गरिएका खेलहरुलाई मध्यनजर गर्दा कुनैपनि कोणबाट त्यो सम्भव देखिदैन । त्यस्तैले, अहिले प्रश्न खडा भएको छ–‘के यिनै खेलले एसियाडमा स्वर्ण पदकसहित दोहोरो संख्यामा नेपाललाई पदक दिलाउन त ? उत्तर सहज छ, सक्दैनन् ।

२० औं एसियाडमा सहभागिता जनाउने खेलहरुमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, ब्रेकिन एण्ड डान्स, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, राफ्टिङ एण्ड क्यानोइङ, सप्ट टेनिस, स्क्वास र्याकेट, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसु रहेका छन् । माथि उल्लेखित गरिएका खेलहरुमध्य अहिलेसम्म एशियाडमा चार खेल तेक्वान्दो, कराते, बक्सिङ र कबड्डीले मात्र पदक जित्न सफल भएका छन् । २० औं एसियाडमा पहिलो पटक समावेश हुन लागेका केहि खेल बाहेक अन्य अधिकांश खेलले अहिलेसम्म पदक जित्नु त परै जाओस् सन्तोषजनक प्रदर्शन गर्न समेत सकेका छैनन् । प्रायसबै खेलले पहिलो राउण्डबाटै बाहिरिएर एसियाडमा लज्जास्पद कीर्तिमान बनाएको इतिहास छ । यस्तोमा, अब यी खेलहरुले २० औं एसियाडमा पुरानै कीर्तिमान दोहोर्याएर इतिहास रच्ने कुरालाई नकार्न मिल्दैन । साँचो अर्थमा भन्नुपर्दा यि खेलको सहभागिता नै नेपालको लागि ‘स्वर्ण पदक’ बन्ने प्राय निश्चित छ।

लाजमर्दो कुरा के छ भने अहिले एसियाडको लागि छनौट भएका केहि खेलहरुले वार्षिक रुपमा एउटा राष्ट्रिय प्रतियोगिताको आयोजना समेत गरेका छैनन् । यस्ता खेलहरु कसरी एसियाडको लागि छनौट भए ? यहाँ नातावाद, कृपावाद, चाकरी र चाप्लुसी हावी भएको अड्कल काट्न सकिन्छ । अन्यथा राष्ट्रियस्तरमा कुनै गतिविधि नै नभएका खेलहरु अकस्मात कसरी एसियाडका लागि छनौट भए? यसको जवाफ राखेपले दिनुपर्नेछ । हो, कुनै खेलले छनौट चरण पार गरे, कुनैले वाइल्ड कार्ड प्राप्त गरे, कुनैले र्याङ्किङको मापडण्ड पुरा गरे त कुनैले कोटा पुरा गर्न एसियाडमा छनौट भएको देखिन्छ । चुरो कुरो के हो भने यसरी ‘बतासे’ रुपमा एसियाडमा सहभागिता जनाउन पाएका खेलबाट पदक जित्ने कुरामा रत्तिभर पनि विश्वास गर्न सकिदैन । यिनीहरुको प्रदर्शन पनि ‘बतासे’ हुने कुरामा सायदै कसैको दुईमत होला । २० औं एसियाडमा सम्भावित पदक जित्ने खेलको विश्लेषण गर्दा कराते, कबड्डी र बक्सिङलाई पहिलो र अन्तिम प्राथमिकतामा राख्न सकिन्छ । अन्य खेललाई तुलनात्मक दृष्टिकोणले हेर्दा एसियाडमा चमत्कार देखाउने आधार भेटिदैन।

एसियाडमा नेपालको प्रदर्शनको चर्चा गर्दा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । तेक्वान्डोकि सविताराज भण्डारी, प्याराग्लाईडिङ र करातेकि एरिका गुरुङ्गले जितेको रजत पदक नै अहिलेसम्मको ठूलो पदक हो । त्यस्तै, एसियाडमा अफिसियल रुपमा तेक्वान्दो, कराते, बक्सिङ र कबड्डीले मात्रै पदक जित्न सफल भएका छन् । यी खेल बाहेर अन्य खेलहरुको प्रदर्शनको चर्चा गर्दा सहभागिता नै उपलब्धि मानिएको छ । यो पटक तेक्वान्दोबाट पदकको आशा निकै झिनो बन्दा करातेबाट भने केहि आशा गर्न सकिने अवस्था छ । त्यस्तै, कबड्डी र बक्सिङ्गले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएपनि पदक नै जित्छन् भन्ने कुनै ग्यारेन्टी गर्ने अवस्था छैन । यस्तोमा, २० औं एसियाड नेपालको लागि फलामकै चिउरा बन्ने प्राय निश्चित छ । साँचो अर्थमा भन्नुपर्दा नेपालले पदक जितेको र जित्ने आशा गरिएका यी तिन, चार खेल मात्र हुन् । यस्तोमा, आउँदो एशियाडमा यिनै खेलप्रति पदकको आशा गर्नु स्वभाविकै पनि हो । तर, अन्य खेलहरुले सहभागिताको लागि सहभागिता कहिलेसम्म दिने त्यो अहिले अमूर्त प्रश्न बनेको छ । जयहोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :