विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको अहिले दुई महिना बितिसकेकको छ । एन्फा निलम्बनमा परेर फुटबलका हरेक क्रियाकलाप अस्तव्यस्त हुदा समेत शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसको तोड निकाल्न असफल भएका छन् अर्थात् सकेका छैनन् । परिणाम, अहिले एन्फाको ढोकामा ताल्चा झुण्डिएको छ भने फुटबलका सम्पूर्ण गतिविधि ठप्प भएका छन् । फुटबल यस्तो दयनिय अवस्थामा पुग्दा समेत सरकार टुलुटुलु हेरेर बसेको अवस्था छ । फिफाले गरेको निलम्बनको निकासको बारेमा कुनै विशेष पहलकदमी गरेको देखिएको छैन । उल्टो मन्त्रालयका सल्लाहकारले फुटबलको बारेमा अनाप सनाप बोल्दै फिफा र एएफसीलाई चिडाउने कार्य मात्र गरेका छैनन्, फुटबलको आलो घाउमा नुन चुक दल्ने कार्य गरेका छन्।
गैर(कानुनी तरिकाले फुटबलको कुर्सी हत्याउने घिनौंनो खेल शुरु भएपछि फुटबलमा विवादको विजारोपण भएको थियो । विवाद चर्किदै गएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हस्तक्षेपिय भूमिका निर्वाह गर्दै गत चैत्रमा एन्फामाथि तीन महिना प्रतिबन्ध लगाएको थियो । जस्ले एन्फालाई सहि ट्रयाकमा ल्याउने विश्वास गरिए पनि एन्फाको विवाद अझ चुलिएको थियो । परिणाम, राखेपले निलम्बनको पूर्ण अवधि समाप्त हुनुअघि नै एन्फामाथिको निलम्बन हटाएको थियो । राखेपको उक्त कदम आफैमा स्वागतयोग्य भएपनि दुई पक्षबीच निर्वाचन सम्बन्धि सहमति बन्न नसक्दा एन्फाको विवाद कायमै रहेको थियो । यस्तोमा पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाको कार्यसमितिको कार्यकाल सकिएसँगै फुटबलको विवाद चुँइगम जस्तै तन्किदै अन्त्यमा फिफाको अनिश्चितकालिन निलम्बनमा परेको थियो । फिफाले एन्फामा तेस्रो पक्षको हस्तेक्षप भएको भन्दै निलम्बन गरिदियो।
फिफाले एन्फालाई अनिश्चितकालिन निलम्बन गरेपछि अहिले फुटबलको माहोल नराम्रोसँग बिग्रिएको मात्र नभई फुटबलको पाटपूर्जालाई समेत नराम्रोसँग हल्लाई दिएको छ । असार ५ गते एन्फाको कार्य समितिको कार्यकाल सकिए पनि सरकारले एन्फामाथि प्रतिबन्ध हटाउने कुरामा अहिलेसम्म पारदर्शी रुपमा कुनै कार्य गरेको देखिएको छैन । राखेपका सदस्यसचिव राम चरित्र मेहताले सरकारले फिफा र एएफसीसँग वार्ता र पत्राचार गरिरहेको बताउँदै चाँडै एन्फाको निलम्बन फुकुवा हुने र फुटबलले नयाँ काँचुली फेर्ने बताएका छन् । सदस्यसचिव मेहताले अहिलेको समस्याको जड भनेको फिफाको प्रतिबन्ध भएको र त्यो प्रतिबन्ध हटाउनु नै मुख्य कार्य भएको खुलासा गरेका छन् । तर, सरकारले फिफासँग कुनस्तरमा वार्ता गरिरहेको छ र कहिलेसम्म एन्फामाथि लागेको प्रतिबन्ध हट्छ त्यसको बारेमा भने मौनता साँधेका छन् । मेहताको एउटै रटान छ, सरकारले फिफा र एएफसीसँग गम्भिररुपमा छलफल र वार्ता गरिरहेको छ । वार्ता कसले गरिरहेको छ, सल्लाहकारले कि मन्त्री सस्मित पोखरेलले? प्रश्न खडा भएको छ । यसर्थमा कि अहिले सरकारलाई सल्लाहकारले नै चलाइरहेका छन् । त्यसको उदाहरणको रुपमा मन्त्रालयका सल्लाहकार सिद्धि ब्यङ्जनकारले खेलकुदमा अवैधानिक रुपमा गरेको हालिमुहाली र गैरकानुनी कार्यलाई लिन सकिन्छ।
फिफाको निलम्बन र सरकारको निकम्मापनले अहिले नेपाली फुटबल मुर्छित अवस्थामा पुगेको छ । यस्तो अवस्थामा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता प्रभावित मात्र भएका छैनन्, फुटबल खेलाडीहरु खेल्न पाउने अधिकारबाट समेत बन्चित हुन पुगेका छन् । र पनि, सरकारको चेत कहिले खुल्ने त्यसको अत्तोपत्तो छैन । सरकारले यस्तो विषम परिस्थितिमा फुटबललाई मर्न नदिन अपनाउनु पर्ने कुनै विकल्प अपनाएको छैन । उल्टै राष्ट्रिय फुटबललाई चलाएमान बनाउने र फुटबलको कायापलट गर्ने बकमफुसे कुरा गर्दै आएको छ । जब फुटबल खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता नै खेल्न पाउँदैनन् भने राष्ट्रियस्तरमा फुटबलको जति विकास भएपनि त्यसले के अर्थ राख्छ? त्यो कुरा सरकारको मथिङ्गलले सोच्न भ्याएको छैन । अन्यथा विश्वको नम्बर एक खेल फुटबललाई फिफाको प्रतिबन्धसम्म कदापी पुर्याउने थिएन । यो सरकारको सबैभन्दा ठूलो कमजोरी हो । यसको निकास चाँडो भन्दा चाँडो ननिकाले नेपाली फुटबलको जग नराम्रोसँग भासिने पक्का छ।
फुटबललाई फुटबलकै आँखाले हेर्नु पर्छ । दोषी चश्मा लगाएर हेर्दा त्यसले सबैलाई दोषी नै देख्छ । यस्तोमा, वर्तमान अवस्थामा फुटबल कुन दिशातर्फ उन्मूख भईरहेको छ? यसले खेलाडीहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कस्तो प्रभाव पारिरहेको छ ? विश्वमा फिफाले लगाएको प्रतिबन्धले कस्तो सन्देश दिइरहेको छ? त्यसको बारेमा सरकार गम्भिर हुन आवश्यक भइसकेको छ । यदि सरकारले वार्ता र पत्राचारको नाममा एन्फामाथि लागेको प्रतिबन्धलाई लम्ब्याउँदै जाने र समाधान ननिकाल्ने हो भने नेपाली फुटबल ठूलो भूमरीमा फस्ने निश्चित छ । यस्तोमा, सरकारले फुटबलको सर्वोच्च निकाय फिफासँग उच्चस्तरिय वार्ता गरेर फुटबललाई दीर्घकालिन रुपमा निकास दिनु बुद्धिमानी ठहरीने छ । जयहोस्!





