पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सक्रिय फुटबल जीवनबाट सन्यास लिने संकेत गरेका छन् । रोनाल्डोले हालै जर्जिना रोड्रिगेजसँग विवाह बन्धनमा बाँधिएको केहि समयपछि यस्तो संकेत गरेका हुन्।
रोनाल्डोले हालै वोग म्यागजीनलाई अन्तरर्वार्ता दिने क्रममा भनेका थिए,‘सायद यो मेरो फुटबलको अन्तिम वर्ष हो । म आफ्नो शानदार विरासतलाई अब टुङ्ग्याउन चाहन्छु ।’ रोनाल्डोको यो सन्यासको संकेतसँगै अहिले उनका फ्यानहरुबीच ब्यापक चर्चा भइरहेको छ ।
४१ वर्षीय रोनाल्डोले फिफा विश्वकप २०२६ अघि नै यो विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । अहिले रोनाल्डोले सन्यास लिने संकेत गरेसँगै अब क्लब फुटबलबाट पनि उनले चाँडै बिदा लिने देखिएको छ।
रोनाल्डोले सक्रिय फुटबल जीवनदेखि सन्यास लिएपछि आफ्नो परिवारका साथ समय बिताउने बताएका छन् । साथै उनले म सँग आफुलाई व्यस्त राख्न थुप्रै कुुराहरु रहेको बताउँदै एउटै कुरा मात्र बताउन नसकिने बताए।
रोनाल्डोले आफुले सक्रिय फुटबलमा २५ वर्ष बिताएको बताउँदै अब आफ्नो कमाई र परिवारका साथ आनन्द पूर्वक जीवन यापन गर्न चाहने इच्छा प्रकट गरेका छन्।
रोनाल्डोको साउदी प्रो लिग क्लब अल–नासरसँग जुन २०२७ सम्म कन्ट्याक्ट रहेको छ । पाँच पटकका बेलन डी विजता रोनाल्डो विश्वका सबै भन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनी आफ्नो फुटबल करियरमा १००० गोल गर्ने पहिलो खेलाडी बन्ने दौडको निकै नजिक छन्।




