बिना तयारी एसियाली खेलकुल (एसियाड) जस्तो महत्वपूर्ण प्रतियोगितामा पदक जित्ने कल्पना समेत गर्न सकिदैन । एसियाडमा पदक जित्न त्यहि किसिमको योजनाबद्ध तरिकाले वैज्ञानिक प्रशिक्षण गराउनु पर्छ, स्वदेश र विदेशमा । नेपालमा भने योजनाबद्ध तरिकाले अहिलेसमम कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी भएको छैन र देखिदैन । परिणाम, ओलम्पिकको त कुरै छोडौं, एसियाडमा समेत नेपालको उपस्थिति निकै कमजोर र दयनिय बन्दै आएको छ । इतिहास साक्षी छ, नेपालले अहिलेसम्म एसियाडमा औंला भाँचेर गन्न सकिने अफिसियल खेलहरु तेक्वान्दो, कराते, बक्सिङ र कबड्डीमा मात्र पदक जित्न सफल भएको छ । एसियाडमा नेपालले अहिलेसम्म ३ वटा रजत पदक जित्दा प्याराग्लाइडिङ पनि हिस्सा बनेको छ । अहिलेसम्म एसियाडमा सहभागिता जनाएका अन्य खेलहरुको चर्चा गर्दा नाक खुच्याउने अवस्था छ । र पनि, ति खेलहरुले निरन्तर रुपमा एसियाडमा सहभागिता जनाइरहेका छन् । आखिर किन? त्यो कुरा राज्यले बुझेर पनि बुझ पचाएको अवस्था छ । परिणाम, एसियाडमा नेपालको प्रदर्शन कमजोर मात्रै भएको छैन, अन्तर्राष्ट्रियस्तरमा ठूलो बेइज्जतीको सामना समेत गर्नु परेको छ । जसको पोस्टमार्टम अहिलेसम्म सम्बन्धित निकाय शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गर्न सकेको छैन । उल्टै ‘जुन जोगी आए पनि कानै चीरेका’ भन्ने रुपमा प्रस्तुत भएका छन् । जुन नेपाली खेलकुदका लागि बिडम्बना बन्दै आएको छ।
सर्वप्रथम एसियाडमा पदक जित्ने हो भने, राज्यले सपना देख्नु पर्छ । जबसम्म राज्यले सपना देख्दैन तबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कल्पना समेत गर्न सकिदैन । यदि राज्यले आफ्नो सपना साकार गर्ने हो भने सोहि किसिमले योजनाबद्ध रुपमा खेलकुदका विकासका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्नुपर्छ । आधुनिक किसिमको भौतिक पूर्वाधार निर्माण देखि खेलाडीहरुको छनौट र प्रशिक्षणलाई वैज्ञानिक बनाउनु पर्छ । दुःखको कुरा, पञ्चायतकाल बाहेक अहिले मुलुकमा के के तन्त्र आइसक्दा समेत राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको छैन, यो तीतो सत्य हो । साँचो अर्थमा भन्नुपर्दा अहिले खेलकुदमा जे जे गतिविधि भईरहेका छन् ति सबै हचुवाका भरमा भइरहेका छन् र सबै राजनीतिबाट प्रेरित छन् । परिवर्तन र सुशासनको नारा लगाउँदै आएको बालेन सरकारले पनि खेलकुदमा माखो मार्न सकेको छैन । उल्टै खेलकुद मन्त्रालयलाई शिक्षामा गाभेर खेलकुदको हुर्मत लिने कार्य गरेको छ । परिणाम, अहिले नेपाली खेलकुद नाम मात्रको खेलकुद बन्न पुगेको छ । यो बारेमा न हिजो कसैलाई चिन्ता थियो न आज छ । तर पनि, खेलकुद चलिरहेछ, चलमलाई रहेको छ, । आफ्नो अस्तित्वको लडाईमा बुढो दशरथ रंगशालालाई साक्षी राख्दै मृत्यवरण भने गरेको छैन।
यो २१ औं शताब्दी हो, समयले एआईलाई आत्मसाथ गरिसक्यो । बिडम्बना, नेपाली खेलकुद भने भ्यागुतो झैं ट्वारट्वार मात्रै गरेको अवस्था छ । दक्षिण एशियाली खेलकुद (साग) र एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा मात्रै दुई तीन महिना मात्र ट्वारट्वार गर्ने नेपाली खेलकुदमा त्यसपछि कुनै मसानघाटको सून्यता र मौनता भन्दा कम हुदैन । यस्तो, हुनुमा राज्य पूर्णरुपमा दोषी छ । यदि राज्यले योजनाबद्ध र दुरदर्शी तरिकाले खेलकुदका विकासका विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाएको भए खेलकुदले यस्तो नियति कदापी भोग्नुपर्ने थिएन । सरकारको यो रवैयाले खेलकुदलाई कहाली लाग्दो मात्र बनाएको छैन, खेलाडीको मानसिक अवस्थालाई समेत खलबल्याई दिएको छ । परिणाम, अहिले नेपाली खेलकुद अधोगतितर्फ मात्र उन्मूख नभई खेलकुदको संरचना नै धर्मराएको अवस्था छ । जसलाई भरथेक गर्ने निकाय अहिले राजनीतिक चपेटामा पर्दा खेलकुदको आलो घाउमा संक्रमण हुन पुगेको छ । र पनि, राज्यलाई बाल मतलब छैन अर्थात् अनदेखि र अनसुनी गरेर बसेको अवस्था छ । यस्तोमा खेलकुदले कसरी काँचुली फेर्ला र परिवर्तनको महसुस गर्ला? त्यो आफैमा गम्भिर प्रश्न बनेको छ । जय होस्!





