इङलिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो पहिचान बनेको लामो कपाल काटेर नयाँ लुकमा देखिएका छन् । उनले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आफ्नो लामो कपाल हटाएर बज कट गराएका हुन्।
नर्वेली स्ट्राइकर हालान्डले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ हेयरस्टाइल सार्वजनिक गर्दै नयाँ सिजन,नयाँ ट्रिम´लेखेका थिए । त्यसपछि उनले अर्को पोस्टमाछोटो कपाल, कुनै चिन्ता छैन´ भन्ने सन्देश पनि दिएका थिए।
लामो कपाल हालान्डको पहिचानकै एउटा हिस्सा बनेको थियो । उनले प्रायः कपाललाई पोनीटेल, टप नट वा बनमा बाँधेर खेल्ने गरेका थिए । यसै लुकका कारण उनी सामाजिक सञ्जालमा पनि निकै चर्चित बनेका थिए । उनको कपालको शैलीलाई लिएर विग, मीम र ‘लुकअलाइक’ प्रतियोगिता समेत चर्चामा आएका थिए।
यसै, वर्ष भएको विश्वकपमा नर्वेको उत्कृष्ट प्रदर्शनका क्रममा हालान्डले ७ गोल गरेका थिए । नर्वे क्वार्टरफाइनलसम्म पुगेको उक्त प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा तेस्रो स्थानमा रहेका थिए।
म्यानचेस्टर सिटीले नयाँ सिजनको सुरुवात भने पूर्वचेल्सी प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा गरेको छ । क्लबले प्रिमियर लिगको पहिलो खेलमा बर्नमाउथविरुद्ध पछि परेको स्थिति उल्टाउँदै सिटीले अन्तिम समयमा २ गोल गरेर जित निकालेको थियो । उक्त खेलमा हालान्डले भने गोल गर्न सकेनन्।
हालान्डको कपाल काट्ने निर्णयलाई लिएर समर्थकहरूको प्रतिक्रिया पनि मिश्रित देखिएको छ । केही समर्थकले उनको लामो कपाललाई ‘भाग्यशाली कपाल’ भन्दै काटेपछि राम्रो प्रदर्शन नहुने चिन्ता व्यक्त गरेका छन् । अर्कोतर्फ, केहीले नयाँ छोटो कपालले उनको खेलमा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्ने बताएका छन्।
सन् २०२२ को जुलाईमा म्यानचेस्टर सिटीमा आबद्ध भएयता हालान्डले चारमध्ये तीन सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका थिए । अब नयाँ सिजनमा नयाँ लुकले उनको प्रदर्शनमा कस्तो प्रभाव पार्ला भन्नेतर्फ उनका समर्थक निकै जिज्ञासु देखिएका छन्।




