नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको ७ वर्षपछि पाकिस्तानले १४ औं साग आयोजना गर्ने निर्णय गरेको छ । पाकिस्तानले आगामी चैत्र २० देखि २८ गतेसम्म इस्लामावाद, लाहोर र पेशावर गरि तीन शहरमा सागको आयोजना गर्ने घोषणा गरेको छ । १४ औं सागमा २८ खेल समावेश गरिएको छ । १४ औं सागमा २८ खेलमा कुल ३४६ पदक इभेन्ट रहेका छन् । जसमा ३४६ स्वर्ण, ३४६ रजत र ५१५ पदकका लागि सहभागि टोलीले प्रतिस्पर्धा गर्नेछन् । १४ औं सागको उद्घाटन समारोह इस्लामावादको जिन्ना स्टेडियममा हुनेछ । पाकिस्तानमा आयोजना हुने १४ औं सागमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने पक्का भएपनि भारतको सहभागिता भने अनिश्चित बनेको छ । १४ औं सागको आयोजनाको विषयमा यसअघि हुँदै आएको बैठकमा भारतले भौतिक नभई अर्चुअल माध्यमबाट आफ्नो उपस्थिती दिदै आएको कुरा बाहिरीएको छ। यस्तोमा, भारतले १४ औं साग खेल्ने र नखेल्दे कुरा अहिले निकै चासो र चर्चाको विषय बनेको छ । आयोजक राष्ट्र पाकिस्तानले १४ औं सागमा भारतले सहभागिता जनाउने भनेपनि भारतको सहभागिताको बारेमा ठोकुवा गरेर भन्न सक्ने अवस्था भने छैन र देखिदैन।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावको प्रभाव विगत लामो समयदेखि खेलकुदमा पनि पर्दै आएको छ । परिणाम, दुवै देशका खेलाडीले एक अर्काको भूमीमा भन्दा न्युट्रल भूमिमा प्रतिस्पर्धा गर्दै आएका छन । आपसी भाईचारा र प्रेमको सेतु मानिने खेलकुदमा समेत भारत र पाकिस्तानका खेलाडीहरुले युद्ध भूमिमा जस्तै गरेर उत्रिने गरेका छन् । जसले खेलकुदको भावनामा ठेस मात्र पुर्याएको छैन, विश्व खेलकुदको मानचित्रमा नकारात्मक सन्देश समेत प्रवाह गरिरहेको छ । र पनि, राजनीतिक तिक्तता नै भारत र पाकिस्तानका लागि मान, सम्मान र प्रतिष्ठाको विषय बन्दै आएको छ । पछिल्लो दुई दशकको इतिहास हेर्दा दुवै देशका सरकारको निर्णय बेगर कुनैपनि टोलीले एक अर्काको भूमिमा गएर प्रतिस्पर्धा गरेका छैनन् । यस्तोमा, पाकिस्तानमा हुन लागेको १४ औं सागमा भारतको सहभागिताको बारेमा प्रश्न उठ्नु स्वभाविकै कुरा हो । अर्को महत्वपूर्ण कुरा, यदि भारतले १४ औं सागमा सहभागिता दिएन भने १४ औं सागको आयोजना निर्धारित मितिमा होला ? प्रश्न खडा भएको छ।
साँचो अर्थमा भन्दा भारतको सहभागिता बिना १४ औं साग अर्थहिन हुने कुरालाई नकार्न मिल्दैन । भारत दक्षिण एशियाको सबैभन्दा सशक्त टोली भएकोले भारतको सहभागिताले प्रतियोगिताको सफलता र असफलताको बारेमा धेरै अर्थ राख्छ । तसर्थ १४ औं सागलाई सार्थक तुल्याउन पनि भारतको सहभागिता अपरिहार्य छ । यस्तोमा, अब पाकिस्तानले कस्तो किसिमको कुटनितिक रणनीति अख्तियार गर्छ त्यो महत्वपूर्ण विषय हो । यदि, १४ औं सागमा सुरक्षा लगायत अन्य कारण देखाउँदै भारत पन्छियो भने त्यो पाकिस्तानका लागि दुर्भाग्य हुनेछ । यस्तोमा, दक्षिण एशियाली मुलुकको लागि ओलम्पिक मानिने साग गेम्सलाई सफलताको मूर्तरुप दिन पाकिस्तान सरकारले भारत सरकारसँग उच्चस्तीय वार्ता गर्नुपर्ने देखिन्छ । त्यसपछि भारत सरकारले त्यसलाई कस्तो रुपमा लिन्छ र निर्णय गर्छ त्यसले १४ औं सागको आयोजनाको औचित्यलाई पुस्टि गर्नेछ । अन्यथा भारतबिनाको साग गेम्स नुन नहालेको तरकारी जस्तै बन्ने प्राय निश्चित छ।
पछिल्लो समयमा भारतले साग गेम्सलाई यति महत्व दिएको छैन र पाइदैन । कमनवेल्थ गेम्स, एसियाड र ओलम्पिकलाई विशेष महत्व दिदै आएको र सोहि अनुरुपको तयारी गर्दै आएको भारतको लागि साग गेम्सले खासै महत्व राख्दैन । त्यसैले, भारतले साग गेम्समा सहभागिता जनाएपनि आफ्ना पहिलो, दोश्रो भन्दा पनि तेस्रो दर्जाका खेलाडीहरुलाई साग गेम्समा उतार्दै आएको छ । यस्तोमा, पाकिस्तानमा आयोजना हुने १४ औं सागले भारतीय खेलाडीहरुका लागि कुनै अर्थ राख्दैन भन्दा पनि फरक पर्दैन । र पनि, यो दक्षिण एशियाली खेलकुद हो, यसमा दक्षिण एशियाका सबै मुलुकले सहभागिता दिदा प्रतियोगिताको शान बढ्छ । अर्को कुरा खेलाडीहरुले एक आपसमा भिडन्त गर्दै आफ्नो प्रतिभालाई निखार्ने अवसर पाउँछन् । खेलाडीहरुलाई खेल्न पाउने हकबाट कसैले पनि बन्चित गर्नु हुदैन, चाहे त्यो भारत नै किन नहोस् । त्यसैले, भारतले पनि ठण्डा दिमागले यो बारेमा सोच्नु पर्दछ । पाकिस्तानले आयोजना गर्दैमा नखेल्ने भन्ने कुरा चाहिँ हुदैन । साथै आयोजक पाकिस्तानले पनि भारतीय खेलाडीहरुको उच्च सुरक्षा व्यवस्थाको ग्यारेन्टी लिनुपर्दछ । अन्यथा, १४ औं सागमा भारतको सहभागिता भर्चुअल वार्ता जस्तै बन्ने कुरामा सायदै कसैको दुईमत होला । जयहोस्!





