कासिब मर्डाेकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा पुगेका छन् । चीनको साङ्घाईमा शनिबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डाेकलाई पराजित गर्दै ढाँटले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

अक्टागनमा भएको तीन राउण्डको प्रतिस्पर्धामा ढाँटले सर्वसम्मत नभई स्प्लिट डिसिजनबाट खेलको नतिजा आफ्नो पक्षमा पारेका हुन् । निर्णायकहरूको मत विभाजित भए पनि दुई जज ढाँटको पक्षमा उभिएपछि नेपाली फाइटर विजेता घोषित भए।

पहिलो जजले ढाँटलाई २९-२८ को स्कोरमा अगाडि राख्दा दोस्रो जजले समान २८-२९ को अन्तरमा कासिबलाई विजयी देखाएका थिए । निर्णायक तेस्रो जजको स्कोर पनि २९-२८ ले ढाँटकै पक्षमा आएपछि उनको फाइनल यात्रा निश्चित भएको हो।

अब युएफसी प्रवेशका लागि ढाँटले अन्तिम चुनौतीका रूपमा र्यो ताजिमाको सामना गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतीय फाइटर चुङग्रेन कोरेनलाई हराउँदै फाइनलको टिकट काटेका थिए।

फाइनलको नतिजा ढाँटका लागि विशेष महत्त्वको हुनेछ । उपाधि जित्न सके उनले युएफसीमा छनोट हुने अवसर प्राप्त गर्नेछन् । त्यसैले ताजिमाविरुद्धको आगामी भिडन्त ढाँटका लागि प्रतियोगिताको अर्को चरण मात्र नभई विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसम्म पुग्ने निर्णायक खुड्किलो बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :