काठमाडौं । देशका विभिन्न भागमा बुधबार आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नेपाल क्रिकेट संघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको हो।
क्यानका अनुसार उक्त ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि आफू सदैव प्रतिबद्ध रहने जनाएको छ।




