एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात, कप्तान सन्दीपको ५ विकेट

काठमाडौं । बहराइनलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कप २०२६ मा विजयी शुरुवात गरेको छ। मलेसियाको बांगीमा सोमबार भएको आफ्नो पहिलो खेलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित रहँदै सर्वाधिक ३६, पूर्व कप्तान रोहितकुमार पौडेलले १९, अर्का ओपनर मोहम्मद आसिफ शेखले १८ र देव खनालले १० रन जोडे।

बहराइनको लागि इमरान जाभेद अनवारले २ विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो।

बहराइनको लागि फिआज अहमेदले सर्वाधिक १५ र मुहम्मद वासिमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको लागि कप्तान सन्दीपले उत्कृष्ट बलिङ गर्दै एक्लैले ५ विकेट लिदा ललित नारायण राजवंशीले ३, करण केसीले २ तथा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र गुल्शन कुमार झाले १-१ विकेट लिए।

मलेसियामा जारी एसीसी प्रिमियर कपमा १० राष्ट्र सहभागी छन् भने यस प्रतियोगिता एसिया कप छनोटको रुपमा समेत रहेको छ । प्रिमियर कपको समूह ‘ए’ मा नेपालसहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया तथा समूह ‘बी’ मा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।

अब, नेपालले दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र चौथो तथा अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्ने छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले भदौं २५ गते सेमिफाइनल खेल्ने छन् । यस्तै, भदौं २७ गते हुने फाइनलको विजेताले एसिया कपमा आफ्नो स्थान सुरक्षि गर्नेछ।

आगामी संस्करणको एसिया कप सन् २०२७ मा बंगलादेशमा हुने तालिका रहेको छ । जसमा, आयोजक बंगलादेशसहित भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :