काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) ले विशेष पहल गर्ने भएको छ।
एनभीएल आयोजकले बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संकटको यस घडीमा नेपाल सरकारसँगै रहेको प्रतिबद्धता जनाएको छ।
आयोजकका अनुसार एनभीएलको पहिलो दिन अर्थात् भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ । बाढी प्रभावितको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सानो सहयोगस्वरूप उक्त रकम कोषमा प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।
एनभीएलका सबै खेलका टिकट आईएमई खल्ती लिमिटेडमार्फत खरिद गर्न सकिनेछ । त्यस्तै, काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रहने काउन्टरबाट पनि भौतिक रूपमा टिकट खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ।
एनभीएलका लागि टिकट बुकिङ भदौ १४ गतेदेखि आईएमई खल्तीमार्फत खुला गरिएको समेत आयोजकले जनाएको छ।
आयोजकले विपद्को यस कठिन समयमा बाढी प्रभावितको उद्धार, उपचार र पुनर्स्थापनाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने जनाएको छ।




