रसुवा बाढी पीडितका लागि नेपाल भलिबल संघले ५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले ५ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

संघको आज (सोमबार) बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । प्राकृतिक विपत्तिबाट प्रभावित रसुवाबासीप्रति ऐक्यबद्धता जनाउँदै संघले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बाढीका कारण प्रभावित बनेका रसुवाका नागरिकप्रति संघको साथ र ऐक्यबद्धता रहेको बताए।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ।

संघले रसुवाका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्को यस घडीमा प्रभावित नागरिकको साथमा रहेको समेत जनाएको छ।

रसुवामा भदौ १० गते बुधबार आएको बाढीले जनजीवन प्रभावित बनाएपछि उद्धार, राहत र पुन:स्थापनाका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :