भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान

काठमाडौं । काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिका वडा ६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो ।

कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव केशव स्थापितले प्रतिष्ठानको रिबिन काट्नुका साथै भार वहन गरी संयुक्त उद्घाटन गरे ।

काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र शाहले कीर्तिपुर नगरपालिका महानगरीय प्रहरी बृतका प्रमुख एवं भारोत्तोलनका केन्द्रीय उपाध्यक्ष रुकेश तण्डुकारको विशेष पहलमा प्रतिष्ठान सञ्चालन गर्न सम्भव भएको बताउदै प्रतिष्ठानले भविष्यमा देशलाई योगदान दिने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

प्रतिष्ठान सञ्चालन गर्न वडा ६ ले जलविनायकस्थित वडा कार्यालय छेउमै रहेको भवन उपलब्ध गराएको छ । आवश्यक प्रशिक्षण सामाग्री जिल्ला भारोत्तोलन संघले व्यवस्था गरेको हो ।

भवन आसपास खाली रहेको जग्गामा वडा खेलकुद विकास तदर्थ समिति मार्फत खेलकुदका अन्य संरचना पनि निर्माण गरिने वडा अध्यक्ष नुच्छेबहादुर महर्जनले जानकारी गराए ।

मेयर महर्जनले सीमित श्रोत र साधनका बावजुद नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :