क्यानमा विवादको संकेत गर्दै सचिव प्याकुर्याल र उपाध्यक्ष श्रेष्ठले दिए राजिनामा

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुर्याल र उपाध्यक्ष बिनोदबाबु श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

क्यानका सचिव प्याकुर्याल र उपाध्यक्ष श्रेष्ठले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पदबाट राजिनामा दिएका हुन् ।

प्याकुर्याल र बिनोदबाबु दुई वर्षअघि चार वर्षको अवधिका निम्ति क्यानको नयाँ नेतृत्वका लागि निर्वाचनबाट चयन भएका थिए ।

सचिव प्याकुर्यालले आफू निर्वाचित भएकै दिन क्यानले हासिल गर्नुपर्ने उपलब्धिहरु हासिल भएपछि राजिनामा दिने योजना अनुरुप नै पदबाट राजिनामा दिएको स्पष्टिकरण दिएका छन् ।

उनले नेपाल क्रिकेटलाई आईसीसीको प्रतिबन्ध फुकुवा गराउँदै क्यानलाई एउटा संरचनामा ल्याउने उद्देश्य रहेको र त्यो पुरा भएकोले राजिनामा स्वभाविक रुपमा लिन सबैलाई आग्रह समेत गरे ।

उनले क्यानभित्रको विवाद रहेकोले अहिले कार्यकलको अवधिभन्दा अघि नै आफ्नो राजिनामा आएको रुपमा नलिन समेत सबैलाई आग्रह समेत गरेका छन् ।

‘हामी नेपाली क्रिकेटलाई आईसीसीको प्रतिबन्ध फुबुवा गराउने र नेपाली क्रिकेटलाई सहज निकाश दिने गरी पदमा आएका थियौ’,सचिव प्याकुर्यालले भने,‘त्यही अनुरुप हाम्रो उद्देश्य पूर्ण भएको छ र तर राजिनामा चाँहि केही ढिलो नै आएको हो । हामीले उद्देश्य प्राप्तिपछि राजिनमा दिने शुरुमै योजना बनाएका थियौं ।’

यद्यपी प्याकुर्यालले क्यानमा विवाद हरेक नेतृत्वको पालोमा हुँदै आएकोले अहिलेका अध्यक्ष चतुरबहादुर चन्दको कार्यकाल पनि विवादरहित रहेको भन्न नमिल्ने जिकिर गरे ।

प्याकुर्यालले भने,‘पहिले पहिले पनि नेतृत्तवमा रहेका ब्यक्तिहरु विवादित रहँदै नै आएका थिए नि । अहिले चतुर जीको कार्यकलमा कुनै विवाद नै छैन भन्न त मिल्दैन ।’

पछिल्लो समय प्याकुर्यालको अध्यक्ष चन्दनको निकट मानिएका कोषाध्यक्ष रोशन सिंहसँगको सम्बन्ध बिग्रिदै गएको थियो । अहिले प्याकुर्याल र रोशनबिच पानी बाराबारको सम्बन्ध रहेको छ । रोशनसँग सम्बन्ध बिग्रिएपछि बिस्तारै अध्यक्ष चन्द र सचिव प्याकुर्यालबिचको सम्बन्ध पनि नराम्रोसँग बिग्रदै गईरहेको छ ।

यसबाहेक प्यार्कुर्यालले क्यानमा अधिकांश निर्णयहरु बिना सल्लाह अथाव आफ्नो प्रभावमा पर्ने गरी लिदै आएको उनीमाथि आरोप लाग्दै आएको छ । उनले पछिल्लो समय नृपाली राष्ट्रिय क्रिकेट टोलिको जर्सिको प्रायोजनको जिम्मेवारी निजि विज्ञापन संस्था एड प्याडलाई एकलौटी रुपमा दिएको लगायतका आरोप समेत लागेको छ ।

प्याकुर्यालले आफ्नो राजिनामाको बारेमा क्यानलाई आधिकारिक रुपमा कुनै जानकारी नगराएको भएपनि नियमसँगत रुपले आफूहरुको पद त्यागको बारेमा चाँडै नै जानकारी गराउने जिकिर गरे ।

प्याकुर्याल एशियन क्रिकेट काउन्सिल (एसीसी)को डेभलप्नेम्नट कमिटीमा समेत रहेकोले उनले एसीसीलाई पनि आफू क्यानमा नरहेको जानकारी गराउने बताए । एसीसीको कमिटीमा रहन देशको क्रिकेट बोर्डमा रहनुपर्ने अनिवार्य नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :