पौडी संघमा चलेको तानाशाही आगामी साधारणसभाले छिनोफानो गर्ने

विगत ८ वर्षदेखि हुन नसकेको नेपाल पौडी संघको साधारणसभा आगामी वैशाख ८ गते हुने टुङ्गो लागेको छ । २०७२ सालमा पौडी संघको साधारणसभा भएपनि विभिन्न कारणले अहिलेसम्म साधारणसभा हुन सकेको थिएन । यसरी निश्चित समयमा संघको साधारणसभा हुन नसक्दा पछिल्लो १२ वर्षदेखि अशोक बज्राचार्य पौडी संघको अध्यक्ष रहदै आएका छन् । बज्राचार्य २०६८ सालमा पहिलो पटक पौडी संघको अध्यक्ष बनेका थिए ।

नेपाल पौडी संघको स्थापना २०३८ सालमा भएको थियो । सोहि वर्षदेखि बज्राचार्य पौडी संघमा आवद्ध भएका थिए । अहिले बज्राचार्यले संघका विभिन्न पदमा आसिन हुँदै पौडी संघलाई निरङ्कुश तरिकाले हाँकेको ४२ वर्ष पुगिसकेको छ । २०५२ सालमा तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव स्थापितका पालामा बज्रायार्य पौडी संघको उपाध्यक्ष बनेका थिए । त्यसबेला संघको अध्यक्ष प्रदीपशम्शेर राणा भएपनि हर्ताकर्ता भने बज्राचार्य नै थिए । साँचो अर्थमा भन्नुपर्दा पौडी संघ बज्राचार्यले नै चलाएका थिए ।

२०५६ सालमा भएको पौडी संघको साधारण साभाबाट प्रगुनशम्शेर राणा अध्यक्षमा निर्वाचित हुँदा महासचिवमा बज्राचार्य निर्वाचित भएका थिए । उनले महासचिव पद पाउन उपाध्यक्ष पदलाई समेत तिलाञ्जली दिएका थिए । अध्यक्ष प्रगुनशम्शेरलाई खोपीको राजा बनाउँदै पौडी संघमा एकाधिकार कायम गर्दै पौडी संघ चलाउन थालेपछि त्यसबेला उनको विरुद्धमा ठूलो आवाज उठेको थियो । त्यसपछि तत्कालिन राखेपका सदस्यसचिव किशोरवहादुर सिंहले बज्राचार्यलाई पदबाट हटाउन कोशिस समेत गरेका थिए । तर बज्राचार्यले उपल्लोस्तरमा गएर गरेको चाकरी र चाप्लुसीको अगाडि सिंह नतमस्तक हुनु परेको थियो । सिंहले माथिको दबाव खेप्न नसकेर बज्राचार्यलाई कारवाहि गर्न असमर्थ भएका थिए ।

प्रगुनशम्शेरले पौडी संघको अध्यक्ष पद छोडेपछि तत्कालिन राखेपका सदस्यसचिव हरिबहादुर चौधरीले नेपाल पौडी संघलाई विघटन गर्दै तदर्थ समिति गठन गरेका थिए । तदर्थ समिति गठन गर्नुको मुख्य कारण बज्राचार्य नै थिए । सदस्यसचिव चौधरीले बज्राचार्यले पौडी संघमा एकाधिकार कायम राखेको, आर्थिक पारदर्शिता नगराएको, सधारणसभा नगराएको र संघलाई तानाशाही हिसावले चलाएको आरोप लगाउँदै संघको तदर्थ समिति गठन गरेका थिए ।

राखेपका सदस्यसचिव हरिबहादुर चौधरीले त्यसपछि समिममिँया अन्सारीको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए । राखेपले गठन गरेको उक्त तदर्थ समितिको उपाध्यक्षमा रमेशमान मल्ल, वीरेन्द्र श्रेष्ठ र नारायण प्रधान रहेका थिए । त्यस्तै महासचिवमा जगतमान श्रेष्ठ, सचिवमा प्रकाश घिमिरे र सदस्यमा इश्वर कार्की थिए । उक्त तदर्थ समितिले नेपाल पौडी संघलाई लगभग दुई वर्ष चलाएको थियो ।

नेपाल पौडी संघमा विवाद मौलाउँदै गएपछि तत्कालिन राखेपका सदस्यसचिव युवराज लामाले पौडी संघको विवाद अन्त्य गर्न दुवै पक्षलाई एउटै बनाउने कार्य गरेका थिए । त्यसपछि भएको निर्वाचनमा दुवै पक्षका पदाधिकारीहरु पौडी संघको कार्यसमितिमा आवद्ध हुन पुगेका थिए । दुवै संघ मर्च भएपछि अशोक बज्राचार्य पुनः पौडी संघको अध्यक्ष बन्न पुगेका थिए । त्यसपछि २०६८ सालमा भएको साधारण सभादेखि अहिलेसम्म पनि बज्राचार्य नै पौडी संघको अध्यक्षमा विराजमान छन् ।

नेपाल पौडी संघको साधारणसभा आगामी वैशाख ८ गते काठमाण्डौंमा हुँदैछ । उमेरले ७ दशक पार गरिसकेका र विगत ४२ वर्षदेखि पौडी संघमा हालिमुहाली गर्दै आएका बज्राचार्यले अहिले पनि अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनको यो दाबेदारीले पौडी संघको माहोल मात्र बिग्रिएको छैन, आखिर बज्राचार्य मात्रै कहिलेसम्म भन्ने प्रश्न समेत उठेको छ । र पनि, बज्राचार्य दोश्रो पुस्तालाई पौडी संघको जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा देखिदैन । उनी अझै एक कार्यकाल पौडी संघको अध्यक्ष बन्ने दाउमा प्रयासरत छन् । यसको लागि उनले विभिन्न किसिमको हरकत गरिरहेका पनि छन् । तर, दोश्रो पुस्ता भने उनलाई ससम्मान पौडी संघबाट बिदाई गर्ने पक्षमा छन् ।

विगत लामो समयदेखि पौडी खेलको विकासमा अहम भूमिका निभाउँदै आएका पदाधिकारीहरु यो पटकको साधारणसभा मार्फत पौडी संघमा परिवर्तन मात्रै नभई आमूल परिवर्तनको पक्षमा उभिएका छन् । उनीहरु यतिबेला संघमा लामो समयदेखि चल्दै आएको तानाशाहीको अन्त्य गर्न रणनीतिक कसरतमा व्यस्त छन् । उनीहरुले आगामी साधारणसभाबाट विगत चार दशकदेखि एउटै व्यक्तिको हालिमुहाली र बर्चश्व समाप्त हुनेमा विश्वास समेत प्रकट गरेका छन् । अब यसमा उनीहरु कति सफल हुन्छन्, त्यो आगामी वैशाख ८ गते हुने पौडी संघको साधारणसभाबाट छिनाफानो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :