सद्भाव, जयवीर र आइस्टिना छनोट

काठमाडौं । सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन्।

सदभाव समग्रमा १–अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेर समुह र समग्र च्याम्पियनसीपको उपाधि जित्न सफल रहे। आज १–अन्डर ६७ मा खेल सकाउँदै सदभावले संसार विकेलाई ३१ स्ट्रोकको फराकिलो अन्तरमा हराए। प्रो गल्फरहरूलाई समेत माथ दिदै आएका सदभावलाई यो प्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन्।

अन्तिम १८ होलको खेल सुरू गर्दा सदभावसँग १७ स्ट्रोकको अग्रता थियो। आज उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए।

यसपछि १०औ, ११औं र १४औं होलमा एक–एक सट बचाउन सफल हुँदा ३–पारको १७औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १–अन्डर ३३ मा पुरा गरे। चारवर्ष अगाडि सदभाव १२ देखि १६ वर्षको उमेर समुहमा छनोट भएपनि कोभिडको कारण सहभागीता जनाउन पाएका थिएनन्।

१३–ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३०–ओभर २ सय ३४ सहित पोखराका संसार विके दोस्रो भए। यस्तै आज १०–ओभर ७८ को स्कोर मा समग्रमा ३३–ओभर २ सय ३७ सहित स्वप्नील भट्टराई तेस्रो भए।

पुरूष १२ देखि १६ वर्ष उमेर समुहमा जयवीर आचार्यले आज ५–ओभर ७३ स्कोर गरे। समग्रमा ४९–ओभर २ सय ५३ सहित उपाधि जित्न सफल भए।

अन्तिम १८ होलको सुरूवात गर्दा जयवीर लिडर सिद्धान्त भन्दा नौ स्ट्रोकले पछि थिए। तर आजको ५–ओभरको स्कोरमा सोहम अग्रवाललाई ४ स्ट्रोकले हराउँदै उनी पहिलो भए। उनी अन्तराष्ट्रिय प्रतियोगिताको लागि छनोट भएको पहिलो पटक हो।

आज १२–ओभर ८० सहित समग्रमा ५३–ओभर २ सय ५७ सहित सोहम दोस्रो भए। समग्रमा ५५–ओभर २ सय ५९ सहित दोस्रो दिनका लिडर सिद्धान्त सापकोटा तेस्रो भए। उनले आज २०–ओभर ८८ को खराब प्रदर्शन गरे।

महिलातर्फ अवानी राईलाई १ स्ट्रोकले हराउँदै आइस्टिना टण्डन पहिलो भइन। आइस्टिनाले आज २१–ओभर ८९ को प्रदर्शन गर्दा समग्रमा ६०–ओभर २ सय ६४ सहित उपाधि जित्न सफल भएकी हुन।

उनले आज फ्रन्ट नाइन ६–ओभर ४० र ब्याक नाइन १५–ओभर ४९ मा सकाइन। आज १५–ओभर ८३ सहित समग्रमा ६१–ओभर २ सय ६५ को कूल स्कोरमा अवानी दोस्रो भइन। अनभद्या मल्ल तेस्रो भइन्।

नेपाल गल्फ संघद्वारा आयोजित ५४ होलको तीन दिने प्रतियोगितामा काठमाडौँ, पोखरा, धरान र चितवनका ३१ खेलाडीको सहभागीता रहेको थियो। तीनजना विजेता खेलाडीले भियतनाम र स्पेनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलमा सहभागिता सुनिश्चित गरे।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :