लुम्बिनीको विजयी शुरूवात

काठमाडौँ। वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले मंगलबार विजयी शुरुवात गरेको   छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको हो ।

गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा अविजित रहे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो ।

गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए। १८ बल खेलेका उनले ५ चौका प्रहार। अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा अविजित रहे ।

लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :