अन्तर्राष्ट्रिय उसुमा नेपाली खेलाडी २ रजत र ४ कास्यसहित ६ ऐतिहासिक पदक जित्न सफल

काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा चीनमा सम्पन्न ‘अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४’ मा नेपाली खेलाडी विभिन्न विधामा २ रजत र ४ कास्यसहित कुल ६ वटा पदक जित्न सफल भएका छन्।

अप्रिल २१ देखि शुरु भई अप्रिल २५ अर्थात् बिहीबार सम्पन्न भएको प्रतियोगितामा नेपालका खेलाडीले सासौं विधातर्फ एकलमा समान २-२ रजत र कास्य तथा थाउलो विधामा एकल र टिम इभेन्टमा समान १-१ कास्य गरि कुल ६ वटा पदक जित्न सफल भएका हुन् ।

जसमा रजत पदक जित्ने खेलाडीमा संजिव महर्जन र विद्या गुरुङ्ग रहेका छन् । संजिवले सासौं विधाको पुरुष ८० केजी तौल समूह तथा विद्याले महिला ५६ केजी तौल समूहमा रजत पदक जितेका हुन् । बिहीबार भएको फाइनलमा संजिव इरान तथा विद्या टर्कीका खेलाडीसँग पराजित हुँदै स्वर्ण पदक जित्नबाट भने बन्चित बने ।

सासौं विधाकै पुरुषमा नेपालका किरण सिंह साउदले ९० केजी तौल समूह र महिलामा लुमन्ति श्रेष्ठले ६५ केजी तौल समूहमा कास्य पदक जिते। यस्तै प्रतियोगिताको थाउलो विधाको नानछ्वानमा नेपालका दिपक हमाल ९ दशमलव ६६३ स्कोरसहित कास्य पदक जित्न सफल भए ।

यसैगरी थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीले अर्को कास्य पदक जिते । पुरुष टिम इभेन्टमा कास्य पदक जित्ने खेलाडीहरुमा विजय सिन्जाली, दिपक हमाल र राजिव गुरुङ्ग रहेका छन् ।

नेपाली उसु खेलाडीले कुनैपनि आधिकारी अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै पहिलो तथा ऐतिहासिक रजत र कास्य पदक भएको नेपाल उसु महासंघका महासचिव तथा नेपाली टोलीका नेतृत्वकर्ता ल्हाक्पा छिरिङ लामाले चीनबाट मेरोखल डटकमलाई जानकारी दिए ।

प्रतियोगितामा भाग लिन २० सदस्यीय नेपाली उसु टोली चीन गएका थिए। सहभागी खेलाडीमा उसु थाउलो विधातर्फ विजय सिंजाली, दिपक हमाल, पासाङ शेर्पा, राजिब तामाङ, निमा घर्तीमगर, सविता राई छन्‌ भने उसु सासौं विधामा किरण सिंह सावद ९० केजी, संजिव महर्जन ८० केजी, समन घुस्री ७० केजी, अमर सुनार ६५ केजी र रोहित चुनारो ५६ केजी रहेका थिए।

यस्तै महिलामा विद्या गुरुङ्ग ५६ केजी, नविना विक ५२ केजी र लुमन्ति

श्रेष्ठ ६५ केजीका थिए। त्यसैगरी नेपाली टिम कोचमा निकेश श्रेष्ठ (पुरुष), जुनी राई (महिला), करुणा महर्जन (महिला), अवजर्भव साम्देन शेर्पा (बोर्ड सदस्य) र जजको रुपमा मन्जुर महर्जन हाल चीनमा छन्। प्रतियोगिताको सफल, उपलब्धिमूलक र उत्साहजनक समापनसँगै नेपाली टोली अबको केही दिनमा स्वदेश फर्कने महासचिव लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :