ए डिभिजन लिगमा आठौं चरणका सम्पूर्ण जानकारी

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलहरु सकिएका छन् ।

सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बिच प्रतिस्पर्धा भएसँगै प्रतियोगितामा आठौं चरणका खेलहरु सकिएका हुन् ।

सो खेलमा पुलिस र ब्रिगेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । आठौं चरण अन्तर्गत भएका ७ मध्ये एक खेल उपत्यका बाहिर पोखरा रंगशालामा भएको थियो । यस्तै आठौं चरणको समाप्तीमा लिगमा १ सय गोल समेत पुरा भएको छ ।

जानौं आठौं चरणमा भएका लिगका सम्पूर्ण जानकारी:

पुष २३: आठौं चरणको खेल शुरु भएको पहिलो दिन दुई खेल भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए ।

खेलमा संकटाका लागि जया गुरुङ तथा सातदोबाटोका लागि सुशील राईले एक एक गोल गरेका थिए । सोहि दिन भएको दोश्रो खेलमा विभागीय टोली एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए ।

पुष २४: आठौं चरणको खेल शुरु भएको दोश्रो दिन भएको तीन मध्ये एक खेल पोखरा रंगशलामा भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा साविक विजेता मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबविरुद्ध १-० को जितसहित शिर्ष स्थानको अग्रता कायमै राखेृको थियो ।

मछिन्द्रले सो खेलमा आत्मघाती गोल उपहारबाट जित निकाल्नेको थियो । फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरे ।

पोखरा रंगशालामा भएको दिनको दोश्रो खेलमा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबमाथि ५-० को फराकिलो जित निकालेको थियो । रेलिगेशनको खतरामा पर्दै आएको च्यासलमाथि फराकिलो जित हासिल गर्न मनाङका ओलावा अफिजले ह्याट्रिक गोल गर्दा एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे ।

यस्तै दशरथ रंगशालामा भएको सो दिनको अन्तिम तथा तेश्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यु रोड टिम (एनआरटी) क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेश्रो जित हासिल थियो । आर्मीको जितका लागि दिनेश हेन्जनले निर्णायक गोल गरेका थिए ।

पुष २५: आठौं चरण अन्तर्गत तेश्रो दिन भएको एक मात्र खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबमाथि २-० को सहज जित हासिल गरेको थियो । सोखलमा थ्री स्टारलाई जित दिलाउन एक गोल अन्सुमाना क्रोमाले गर्दा एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

थ्री स्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल शेर्पाका डिफेन्डर अमृत श्रेष्ठलाई लाग्दै गोलमा परिणत भएको थियो ।

पुष २६: आठौं चरणको खेल सकिने अन्तिम दिन एक खेल भयो । दशरथ रंगशालामा भएको अन्तिम दिनको एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । पुलिसका लागि बुद्ध तामाङ तथा ब्रिगेडका लागि रोशन राना मगरले गोल गरे ।

लिगको आठौ चरणको खेलमा कुल १३ गोल भए । ताकि सातौं चरणमा १३, छैटौंमा १७ गोल, पाँचौं चरणमा १५, चौंथोमा ९, तेश्रोमा १८ र दोश्रोमा ७ गोल हुँदा पहिलो चरणमा १६ गोल भएका थिए । प्रत्येक चरणमा ७ खेल हुनेछन् । अहिलेसम्म भएका ५६ खेलमा १ सय ८ गोल भएका छन् ।

जसमा ३५ खेलमा हार जित, २१ खेल बराबरी भएका छन् । २१ बराबरीमा पनि ११ खेल गोलरहित र १० खेल भने गोलसहितका बराबरी छन् ।

आठौं चरणका खेल सकिदासम्म २० अंक जोडेको साविक विजेता मछिन्द्र शिर्ष स्थानमा रहँदा १९ अंक रहेको आठ पटकको किर्तिमानि च्याम्पियन मनाङ दोस्रो स्थानमा छ । समान १४ रहेको संकटा तेश्रो तथा आर्मी चौंथो स्थानमा छ भने १३ अंक रहेको थ्री स्टार पाँचौ स्थानमा छ ।

११ अंकसहित शेर्पा छैटौं स्थानमा रहँदा १० अंक रहेको एनआरटी सातौं, ९ अंक रहेको सातदोबाटो आठौं, ८ अंक रहेको जावलाखेल नवौं तथा समान ७ अंक रहेको एपीएफ दशौं र पुलिस ११ औं स्थानमा रहेको छ ।

६ अंक रहेको ब्रिगेड १२ औं स्थानमा रहँदा १३ औं स्थानको च्यासलको ५ तथा तालिकाको पुछारमा रहेको फ्रेन्ड्सको ३ अंक रहेको छ । १४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा अब ५ चरणका खेलहरु बाँकी छन् । नवौं चरणका खेलहरु पुष ३० गतेबाट शुरु हुनेछन् ।

लिगमा आघा भन्दा बढी खेल भइसक्दा रोचकता झनै थपिदै गएको छ । एकातर्फ उपाधि दाबेदार टोलीबिचको प्रतिस्पर्धा थप बलियो बन्दै जाँदा अर्कोतर्फ यो पटक कुन कुन दुई टोली रेलिगेशनमा पर्दै बी डिभिजन झर्नेछन् भन्ने विषयको चासो बढ्दो छ ।

यो पटक दुई टोली रेलिगेशनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :