नवौं राष्ट्रियमा खेलाडीहरुको भत्ता होटल मालिकले बाँडेपछि…

मेरोखेल डेस्क

काठमाडौं । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीदेखि खेलकुद मन्त्रीसम्मलाई समान दैनिक २ हजारको भत्ता दिने व्यवस्था गरिएको थियो । उक्त भत्ताको व्यवस्था राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०७९ अनुसार गरिएको हो ।

निर्देशिका अनुसार पारिश्रमिक, भत्ता, एवम् अन्य सुविधा अन्तर्गत परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने अफिसियल, खेलाडी, कर्मचारी, विज्ञ, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक र निर्णायकहरुलाई अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिमको पारिश्रमिक एवम् अन्य सुविधा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का केहि कर्मचारी, पदाधिकारीहरु र युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरुले १ रातको ३ हजारदेखि १० हजारसम्म पर्ने कोठामा बसेर परिषद्लाई आर्थिक भार मात्र नबढाई निर्देशिकाको समेत धज्जी उडाएका छन् । निर्देशिका अनुसार दैनिक २ हजारको भत्ता पाउने यी पदाधिकारीहरुले एकै रातको १० हजारसम्म पर्ने कोठामा बसेर राज्यको ढुकुटीको दोहन गरेको राखेप स्रोतले बताएको छ ।

त्यस्तै खेलाडीहरु बस्ने होटलमा प्याकेजमा रकम दिने व्यवस्था गरिएको पनि स्रोतले जनाएको छ । जसअनुसार दैनिक १२ देखि १४ सयसम्ममा खेलाडीहरुलाई होटलमा राख्ने, दुई सय होटल बुकिङको कमिसन कटाउने र बाँकि रहेको रकम खेलाडी र अफिसियलहरुलाई होटल मालिकले दिने गरेको पनि स्रोतले खुलासा गरेको छ ।

प्राप्त जानकारीका अनुसार होटल मालिकले खेलाडी र अफिसियलहरुलाई उक्त कुराको हाकाहाकी जानकारी गराउँदै खेलाडी र अफिसियलहरुलाई ४ सयदेखि ६ सयसम्म दैनिकरुपमा बाँढेको थियो । खेलाडीहरु आफ्नो दैनिक भत्ता २ हजारमध्यबाट ४ देखि ६ सय पाउँदा मख्ख परेपनि उनीहरुले आफुले पाउनुपर्ने रकमको यस्तो किसिमले दुरुपयोग हुँदा समेत मौनता साँध्नुको पछाडिको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।

खेलाडीहरुले आफुले पाउनुपर्ने रकम २ हजार रुपैयाँ यसरी दुरुपयोग भएको चाल नै पाएनन् । चालै नपाएर होला सो सम्बन्धमा खेलाडीहरुले सम्बन्धित निकायमा कुनै किसिमको गुनासो समेत गरेनन् । आफ्नो रकममा होटलको मालिकले रजाई गरिरहेको र उसैले खेलाडीहरुलाई हाकहाकी रकम उपलब्ध गराएका कारण पनि खेलाडीहरुले कुनै गुनासो नगरेको स्रोतले बताएको छ । साथै यस्तो गैरकानुनी कार्यको केहि खेलाडीले चाल पाएपनि गुनासो सुन्ने कोहि व्यक्ति नहुँदा खेलाडीहरु अन्यायमा परेका थिए ।

खेलाडीहरुको सम्पूर्ण बसोबासको व्यवस्था नवौं राष्ट्रिय अन्तर्गतको बसोबास उपसमितिले गरेको थियो । बसोबास समितिका संयोजक समेत रहेका राजु थापाको व्यक्तिगत संलग्नतामा खेलाडीहरुलाई बसोबासको व्यवस्था मिलाईएको थियो । उनले यो कार्यमा उपसमितिका कुनैपनि पदाधिकारीहरुलाई संलग्नता नगराएको स्रोतले बताएको छ ।

स्मरणीय रहोस, राखेपका सदस्य वा पदाधिकारीहरुलाई उपसमितिको संयोजक बनाउने नियम भएपनि राखेपले उक्त नियम तोड्दै स्थानिय पोखरावासी थापालाई बसोबास समितिको संयोजक बनाएको थियो। प्राप्त जानकारीका अनुसार राखेपले आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न र कमिसनलाई मध्यनजर गर्दै थापालाई जिम्मेवारी दिएको स्रोतले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :