एञ्जिला र प्रिन्स एनएनआईपीए ग्लोबल आईएमई बैंक सर्वोत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र बहुचर्चित विश्व जुनियर युवा स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दहाल १७ औं संस्करणको एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत ग्लोबल आईएमई बैंक सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले सोमबार ठमेलस्थित अल्फ्ट होटलमा आयोजना गरेको अवार्ड कार्यक्रममा एञ्जिला महिला तथा प्रिन्स पुरुषतर्फ ग्लोबल आईएमई बैंक सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

उनीहरु दुवैले यो अवार्डसँगै जनही नगद एक लाख पुरस्कार प्राप्त गरेका छन् । यस्तै यसै संस्करणको अन्तर्गत कप्तान एञ्जिलालले फुटबल तथा प्रिन्सले ब्याडमिन्टनतर्फ सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड पनि जितेका छन् । यो अवार्ड स्वरुप उनीहरुले समान १०-१० हजार प्राप्त गरे ।

यस्तै भलिबलतर्फ राष्ट्रिय टोलीकी सदस्य सलिना श्रेष्ठ ,आर्चरीतर्फ इमायुङ्ग राई, एथ्लेटिक्समा दीपक अधिकारी, बास्केटबलमा अनुशा मल्ल, बक्सिङ्गमा सुस्मा तामाङ्ग, साइक्लिङ्गमा निस्मा श्रेष्ठ, फेन्सिङ्गमा ओमकार सिंह,गल्फमा सद्भाव आचार्य, जिम्न्यास्टिकमा नारायण मानन्धर, ह्याण्डबलमा विशास नेपाली, हक्कीमा कमना चन्द, जुडोमा सञ्जित डंगोल, कबड्डीमा घनश्याम रोका मगर, करातेमा चन्चला दनुवार, र्याफ्टिङ्गतर्फ मोहन राना, सुटिङ्गमा सुस्मिता नेपाल, स्कीमा संगिता लामा, स्विमिङ्गमा अलेक्जेण्डर शाह, टेबलटेनिसमा सिक्का सुवाल श्रेष्ठ, टेनिसमा रितिक राना, ट्रायथोलनमा श्रेबी महर्जन,भारोत्तोलनमा विशास सिंह विष्ट, कुस्तीमा सुसिला चन्द र उसुमा सुस्मिता तामाङ्ग सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले पनि जनही १० हजार प्राप्त गरे ।

यसैगरी करातेकी चन्चला दनुवार र गल्फका सद्भाव आचार्य १७ औं संस्करणको एनएनआईपएि स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत प्रतिभाशाली वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले अवार्डसँगै उनीहरुले जनही नगद ५० हाजार प्राप्त गरेका छन् ।

गजराज आदर्श ब्यक्तित्वबाट सम्मानित बरिष्ठ एथ्लेटिक्स प्रशिक्षक खड्क रानाभाटले ३५ हजार, पारा एथ्लिटतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी सुदिक्षा खतिवडा नगद १५ हजार प्राप्त गरेकी छिन् । यस्तै एनएनआईपीए वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार घोषित भएका धुर्व तुलाधरले २५ हजार प्राप्त गरे ।

एनएनआईपीएले यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधिकारिकता मानि सम्बन्धित संघले सिफारिस गरेका खेलाडीहरुलाई सम्मान गरेको हो । यसअघि विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएको संघले यस वर्ष काठमाडौंमा अवार्ड कार्यक्रम आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :