मिलन लामा र राजन सुवेदीको संयुक्त अग्रता

ललितपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना भइरहेको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा काभ्रेका मिलन लामा र पूर्वी नेपाल झापा जिल्लाका राजन सुवेदी संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्। सातौं संस्करणका पूर्व विजेता मिलन लामा र आयोजक क्लबका राजन सुवेदी ५ खेलमा ५ जित हासिल गरि नकआउट तर्फ नजिक भएका छन्। 

सिएम मिलन लामाले ललितपुरका सुरोज महर्जन र बद्रीलाल नेपाली माथि जित दर्ता गरेका छन् भने राजन सुवेदीले भक्तपुरका निकेन कुसाथा र ललितपुरका सोम आले माथि विजय प्राप्त गरेका छन्। 

क्लासिकल खेलको रोमाञ्चक खेलमा भर्खर मात्र युवा १६ को राष्ट्रिय उपाधि पाएका पुरुषोत्तम सिलवालले कालोगोटी वाट खेल्दै एफएम क्षितिज भण्डारी संग बराबरी गर्न सफल भएका छन्। उनले यस अघि ललितपुरका कमल श्रेष्ठलाई हराएका थिए। सिनियर खेलाडी क्षितिजले सजिन महर्जनलाई पराजित गर्दै सिलवाल संग प्रतिस्पर्धा गरेका थिए।

मिलन लामा संग पराजित हुनु पूर्व रुपेश जैसवाललाई हराएका बद्रीलाल नेपालीले ४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल बनेका छन्। बद्रीलाल संगै अन्य सात जना खेलाडी ४ अंकमा छन्। सिएम सजिन महर्जन, एफएम रुपेश जैसवाल, अनरेटेड टोरन भण्डारी, क्षितिज पराजुली, सिएम केशब श्रेष्ठ र जनार्दन श्रेष्ठ संयुक्त तश्रो स्थानमा उभिएका छन्। 

महिला खेलाडी तर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अंकमा फरक प्रतिद्वन्द्वी संग प्रतिस्पर्धा गरिरहेका छन्। सिन्दिराले दोश्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरि अप्रत्याशित नतिजा निकाल्न सफल भएकी थिइन। उनी अहिले युवा सुभम न्यौपाने संग खेलिरहेकी छिन्। शान्ति धिमाल भने भक्तपुरका हर्क बहादुर चोङ्वाङ संग प्रतिस्पर्धामा छिन्। 

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति चेस खेलका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटर साइकल हात पार्ने जानकारी गराएका छन्। जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन्। 

प्रतियोगिताका निर्णायक सोराज ताम्राकारले भोलि हुने दुई चरणको लिग खेल पश्चात् माथिल्लो ४ जना खेलाडीहरु लाई सेमिफाइनल खेलाइने जानकारी गराएका छन्। उनका अनुसार नकआउटमा एकपटक सेतो र अर्कोपटक कालो गरि दुई खेल वाट फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गराइनेछ।

आज भएको पहिलो चरणको खेल बागमती प्रदेशका महिला सभाषद मा.उर्मिला केसि नेपाल र मा. शान्ता ढकालले शुभारम्भ गरेका थए भने दोश्रो खेल दोलखाका मा. कुन्दन राज काफ्ले र काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले आरम्भ गरेको थियो। भोलि लिग तर्फको पहिलो खेल बिहान ९ बजे र दोश्रो खेल २ बजे शुरु हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :