‘चौंथो मञ्जुश्री ट्रेल रेस’ को तयारी अन्तिम चरणमा, ५० भन्दा बढी विदेशी धावक सहभागी हुने

काठमाडौं । यहि चैत २३ देखि शुरू हुने ‘चौंथो मञ्जुश्री ट्रेल रेस’ को तयारी अन्तिम चरणमा पुगेको छ । रेस आयोजक मन्जुश्री ट्रेल रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै रेसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा रेसका अध्यक्ष सुवाश थापाले विगतमा जस्तै मञ्जुश्री ट्रेल रेसको नयाँ संस्करण आयोजना हुन गइरहेको बताए । यस संस्करणको रेसका लागि नेपाल सहित १६ मुलुकका २ सय ७० धावकहरूले आफ्नो नाम दर्ता गराइसकेको उनले जानकारी दिए । जसमध्ये नेपालबाट मात्रै २ सय ३२ धावकले नाम दर्ता गराएका छन् ।

एसिया ट्रेल मास्टर्स जस्ता विदेशी निकायहरूमार्फत थप ५० देखि १०० जना खेलाडी सहभागी हुने उनको भनाइ छ । उनले भने, ‘दर्ता मिति अप्रिल १ सम्मका लागि छ। सो समयसम्ममा अझै धेरै धावकहरू सहभागी हुने सम्भावना देखिन्छ ।’

यो संस्करणलाई एसिया ट्रेल मास्टर्ससँगको सम्झौता भए पश्चात यसको छनोट खेलका रुपमा समेत मान्यता प्राप्त भएको अध्यक्ष थापा बताउँछन् ।

एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन एटिएम फाइनलसँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

सन् २०२३ मा सञ्चालन गरिएको तेस्रो मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगीले भाग लिएका थिए ।

मञ्जुश्री ट्रेल रेस भने सबैभन्दा लामो दौडका रुपमा काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दुरी पुरा गर्दा १२ हजार ६९५ मिटरको उचाई समेत हासिल हुनेछ ।

पौराणिक कथन अनुशार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए र यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो। सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ।

धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन(जंगल र गोरेटो बाटोमा हुनेछ । अप्रिल ५ अर्थात चैत २३ गते बिहान ८ बजे इचंगुनारायण स्थित एक्ले रुख ९सिंगल ट्री०बाट सय माइलको दौड सुरू हुनेछ ।

यस्तै सोही दिन राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, चैत २४ गते बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस चैत २४ गते बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ ।

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १०० जना धावक सहभागी हुँदैछन् । त्यसैगरी चैत २४ गते कालुपाण्डे डाँडाबाट १० किमिको रेस सुरू भइ एक्लो रुख ९सिंगल ट्री०मै सकिने उनले बताए ।

अध्यक्ष थापाका अनुसार सामाजिक कर्तब्य बहन गरेर तथा रेसलाई अझ समावेशी बनाउन अप्रिल ६ मा २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रुपले सबल बाल(बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

यो जम्मा १०० माइल लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि ब्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि ब्यवस्था गरिएको छ । ईमर्जेन्सी अवस्थालाई मध्यनजर राखि सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्वुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।

जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए । पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जि।पि।यस नस्सांकन गरिएको अध्यक्ष थापाले जानकारी दिए । विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

ट्रेलको रुट नक्साङ्कन गर्नेमध्येका एक धावक नारायण आचार्यले यस किसिमको साहसिक दौडले मेडिटेसनको समेत आभास दिने बताए । उनले आफूहरूले सन् २०१२ मै यसकिसिमको लामो दौड आवश्यक भएको महशुस गरेको बताए । उनले भने, ‘सन् २०१२ आसपासमा दौडहरू हुने गरेको भएपनि यति लामो थिएन । पछि मात्रै यस किसिमको दौड गर्न थालिएको हो ।’

उनले लामो दौडको प्रयास स्वरुप नै अहिले १०० माइलको मञ्जुश्री ट्रेल रेस रहेको उनले बताए । उनले यस रेसका क्रममा धावकहरूले विभिन्न संस्कृतिहरूलाई नियाल्न पाइने समेत बताए । उनले भने, ‘विभिन्न जिल्लालाई छोएको,तामाङ, नेवारी, पहाडी वस्ती हुँदै विभिन्न संस्कृति नियाल्दै प्रकृतिसँग सामिप्य हुने दौड हो यो।’ उनले यस रेसमा सहभागी भएकाहरूले विदेशमा रेसमा पनि राम्रो स्कोर पाइरहेको सुनाए ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।

उनले भने, ‘आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।’

अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

साथै यस संस्करणमा थपिएको नयाँ बिशेष आयाम तथा खेलाडिहरूको लागी प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडीले स्वत एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन् । यसमा केही खेलाडी सहभागी हुने राम्रो सम्भावना र अवसर पनि रहेको उनी बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :