दीर्घ जीवनको रहस्य सकारात्मक सोचाईं

रमेश खनाल (खेलकुद मनोविज्ञ)

अहिलेको कष्टमय जीवन, जताततै वितिष्णा, विसंगति, मानसिक अशान्ति, दुःख यातना, पीडा, अस्तव्यस्त परिस्थितिहरुकाबीच सय वर्ष बाँच्नु अचम्मको कुरा हो । रोगले ग्रसित जीवन, कहिले मुटुको रोगको समस्या त कहिले मधुमेह किड्नी, उच्च रक्तचाप, क्यान्सर र हात काम्ने आदि इत्यादि रोगहरु आम मानिसहरुलाई छ । तर पनि मानिस सय वर्ष बाँच्छन्, भने त्यो मानिस भाग्यमानी हुन्छ ।

विश्वमा थुप्रै मानिसहरु सय वर्ष वा सो भन्दा माथिको जीवन बाँचिरहेको इतिहास छ । यस क्रममा उज्वेकिस्तानकि टुडी युसपोभा १३० वर्ष बाँचेकि थिइन् । सम्भवतः उनी नै विश्वको सबैभन्दा बढी उमेरकी वृद्ध महिला हुन् । उनी जुलाई १ तारिख १८८० मा जन्मिएकि हुन् । यसैगरि पोर्चुगलकि मारिया डे जेसस ११७ वर्षकि छन् । उनी १० सेप्टेम्बर १८९३ मा जन्मिएकि हुन् । भारतकि इडाना पार्कर गएको नोभेम्बर २६ मा ११५ वर्ष बाँचेर मरिन् । जापानकि फुसा फुरुया ११३ वर्ष बाँचेर मरिन् । नेपालकि पार्वति खड्का ११२ वर्षको उमेरमा ठमठमी हिडिरहेकि छिन् । उनी देशकै सबैभन्दा जेठी मतदाता हुन् ।

यसैगरि अमेरिकाकि हेलेन फेय केयनी रायचार्ट १०८ वर्षको जीवन बिताइरहेकि छिन् । यसरी लामो आयु बाँच्ने मानिसहरुको रहस्य पत्ता लगाउन धेरैले अध्ययन गरेका छन् । धेरैले धेरै थरिका प्रतिवेदन प्रकाशित गरेका छन् । उनीहरुका अनुसार लामो आयु बाँच्नेहरुको ‘जेनेटिक’ लिङ्क हुन्छ । ‘जेनेटिक’ लिङ्क भएकै कारण अधिकाङ्श मानिसहरु लामो आयु बाँचिरहेका छन् । हेलेनकै कुरा गर्ने हो भने उनको एयरमिङ्ग र पिटर नाम गरेका भाईहरु १०४ र १०० वर्षमा हिडिरहेका छन् । तर उनकि बहिनी लिई १०२ वर्ष बाँचेर सन् २०५ मा मरिन् ।

शाकाहारी हुने, जाँड, रक्सी, चुरोट नखाने, ठिक समयमा सुत्ने, उठ्ने कसरत गर्ने वजन घटाउने, नुन, चिनी, चिल्लो पदार्थ कम खाने मानिस नै सबैभन्दा बढी बाँच्न सक्छन्, भन्ने हाम्रो सोचाईं छ । तर निर ब्राजिलायीको अध्ययनले उक्त कुराहरु विपरित पनि सय वर्ष बाँचेको भेटियो । बेग्लाबेग्लै जीवन शैली अपनाएर आज अमेरिकामा पचास हजार, जर्मनीमा ६ हजार र जापानमा चालिस हजार मानिसहरु सय वर्ष वा सो भन्दा माथिको उमेरसम्म बाँचिरहेका छन् ।

उदाहरणको लागि हेलेनको जीवन शैली हेरौन । उनी सलाद खान पटक्कै मन पराउँदैनिन् । उनी विहान छिटो उठ्न सक्दिनन् । उनी ह्यामवर्गर र चकलेट खान्छिन् । चकलेट खादै रात्रीमय जीवनमा रमाउँछिन् । उनी रेष्टुरा जान्छिन् । सिनेमा हल गएर चलचित्र हेर्छिन् । उनले हेरेको वर्तमान चलचित्र ‘आइरन म्यान–२’ हो । यसैगरि उनी मेट्रोपोलिटियन ओपरामा गएर ब्याले हेर्छिन् । उनले आफु १७ वर्षको हुँदा ‘स्यामल यट डिलैला’ नाटक हेरेको स्मरण गर्छिन् । उनले आफु १७ वर्षको हुँदा चुरोट पिउन थालेको र अहिले अस्सी वर्ष भयो । उनले ८४ वर्षको उमेरमा थाइल्याण्ड, स्पेन, इटाली, टर्कि, इजिप्ट, चीन, जापान र अष्टे«लिया भ्रमण गरिन तर भारत घुम्ने धोको बाँकि रह्यो, उनको । उनका पति २५ वर्ष अगाडि मरेका हुन्। उनी निसन्तान छिन् ।

तर हाम्रै देशकि ११२ वर्षमा हिडिरहेकि पार्वती देवी खड्काको जीवन शैली सामान्य छ । उनी सामान्य खाना खान्छिन् । हरेक दिन रेडियो बाट देशका खवर सुन्छिन् । हिडडुल गर्छिन् । विरामी अवस्थामा वाहेक अरु बेला घरको सामान्य काम पनि गर्छिन् । उनी ११२ वर्षको उमेरमा राम्ररी हिडडुल गरेको देखेर गाउँलेहरु छक्क पर्छन् । उनी राजनीति गर्दिनन् तर राजनीतिमा चासो राख्छिन् । उनले सवैजसो तिर्थधाम गरिसकेकि छिन् । चाडवाड र विहेवारी, धार्मिक जमघट, भजन, किर्तनमा सहभागि हुन्छिन् । नित्यकर्म, राम्रो खानपान, सरसफाई र सकारात्मक सोचाईले गर्दा नै उनी लामो आयु बाँच्न सकेकि हुन् ।

लामो आयु बाँच्नेहरुको जीवन शैली सकारात्मक सोचभित्र अनुबन्धित हुन्छ । पश्चिमी जीवन शैलीमा पिउने, खाने, घुम्ने, हेर्ने भनेको नै मनलाई आनन्द दिनु हो । जसले गर्दा आफु आनन्दित भइन्छ । त्यसले गर्दा मानिस तनाव मुक्त भई खुशी रहन्छ । खुशी हुनु भनेको जीवनलाई सकारात्मक अवयवमा ढाल्नु हो । हेलेनलाई जे गर्दा पनि आनन्द लाग्छ त्यसै गर्ने गरेकि छिन् । यसैगरि पूर्विय परिवेसमा पार्वतीदेवी खड्कालाई आफु जसो गर्दा खुशी भइन्छ त्यसै गरेकि छिन् । यी दुवै महिलाको दीर्घ जीवन स्रोत भनेको सकारात्मक सोचाई नै हो ।

रंग र ब्रस उठाएर दिनभरि सिर्जनामा व्यस्त रहने कलाकारहरु सामान्य जीवन भन्दा बढी नै बाँचेका हुन्छन् । उदाहरणका लागि पिकासो ९२ वर्ष, माईकल एन्जलो ८९ वर्ष, हेनरी माटासी ८५ वर्ष, चन्द्रमान सिंह मास्के ८५ वर्ष, मनोहरमान पुन ८० वर्ष, तेजबहादुर चित्रकार ७१ वर्ष, बालकृष्ण सम ७९ वर्ष, अमर चित्रकार ८९ वर्षसम्म बाँचेका थिए । आफ्नो सिर्जनामा मग्न हुनु भनेको दैनिक जीवनको तनावबाट मुक्त भई निश्चिन्त, आनन्द र सकारात्मक सोचमय जीवन बिताउनु हो । अक्सर कलाकारहरु आनन्दी जीवन भोग्ने भएका हुँदा लामो आयु बाँच्छन् । तर कलिलै उमेरमा भने मर्ने कलाकारहरु पनि छन् । रोग लागेर, रक्सी पिएर, स्त्रीमा लम्पट भएर, अस्वस्थकर दैनिक जीवनमा बाँच्नेहरुको आयु लामो हुन्न । कोहि कोहि अपवाद पनि हुन सक्छन् ।

तर फिजिसियन नीर ब्राजिलायीले बंशानुगत सम्बन्ध अर्थात् ‘जेनेटिक लिङक’ लाई दीर्घ आयूको रहस्य बताएका छन् । बाबु आमा, हजुरबा, हजुरआमा, दीर्घ जीवन बाँचेका छन्, भने उनीहरुका सन्तान दर सन्तान निश्चय नै लामो आयु बाँच्दछन् । हेलेन लगायत अन्य सय वर्ष पुगेका मानिसहरु माथि गरिएको अध्ययनवाट पत्ता लगाएका हुन् । तर पार्वती देवी खड्काको परिवार दीर्घ आयुको छ र? के उनी अपबाद होइनन् र? उनी दीर्घ जीवन बाँच्नु भनेको सकारात्मक सोचाईं नै हो ।

‘वल्र्ड अफ फ्याक्ट’ का अनुसार फ्रान्सका जाने कालमेट १२२ वर्ष १६४ दिन, सराह डिरिभर (अमेरिका) ११९ वर्ष ९७ दिन, म्यारी लुइस ११७ वर्ष २२९ दिन, टानी इकाई ११६ वर्ष १७५ दिन, मागी बानेएस ११५ वर्ष ३१९ दिन बाँचेका थिए । उनीहरु सबैले आनन्द र सकारात्मक सोचको जीवन विताएका थिए । तर विश्वमा जापानका मानिसहरु औषतमा सबैभन्दा बढी ८२ वर्ष सम्म बाँच्दछन् भनि तथ्याङ्कले देखाएको छ । सबैभन्दा कम आयु ३२.५ वर्ष वाँच्ने राष्ट्रचाहिँ स्वीटजरल्याण्ड हो । स्रोत विभिन्न पत्रपत्रिका, इन्टरनेट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :