पुरुष क्रिकेट खेलाडीको कोरोना बिमा प्रक्रिया २ दिनभित्र टुङ्गिने

सुवास रोकाया

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी,कर्मचारी तथा पदाधिकारीहरुको कोरोना बिमा प्रकृया अन्तिम चरणमा पुगेको बताएको छ । क्यानले दुई साताअघि खेलाडीसहित ४५ जनाको कोरोना बिमा गर्ने निर्णय गरेको थियो ।

क्यानले कोरोना कहरका बिच खेलाडी, पदाधिकारी र कर्मचारीको स्वास्थ्य सतर्कता सुनिश्चित गर्न कोरोना विमा गर्न लागेको क्यानका सचिव एवम् प्रवक्ता अशोकनाथ प्याकुरेलले मेरोखेल डटकमलाई जानकारी दिए । उनले क्यानको वार्षिक अुनबन्धनमा रहेको २२ तथा अनुबन्धन बाहिरका ३ जना गरी २५ जना खेलाडीसँगै पदाधिकारी र कर्मचारी गरी कुल ४५ जनाको कोरोना विमाको प्रक्रिया अन्त्मि चरणमा पुगेको बताएका हुन् ।

उनले भने,‘सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण विमा प्रक्रियामा केही ढिला भएको हो । खेलाडीहरुको कागजपत्र पठाउन केही ढिला भएको र अहिले कार्यालयहरु पनि बन्द भएकोले प्रोसेसिङ्गमा केही ढिलाई भएको हो । मेरो विचारमा आईतबार अथवा सोमबार भित्रमा कोरोना विमाको प्रक्रिया टुङ्गिनेछ ।’

क्यानले २५ जना खेलाडी,किर्तिपुर र मुलपानी क्रिकेट मैदानका कर्मचारीसँगै क्यानका पदाधिकारीहरुको कोरोना बिमा योजना अन्तर्गत एक वर्षको लागि १ लाख बराबरको बिमा गर्ने निर्णय गरेको थियो ।

सचिव प्याकुरेलले पहिलो चरणमा पुरुष खेलाडीको भदौ १ बाट प्रशिक्षण शुरु गर्ने भनिएको अवस्थाका कारण पहिला पुरुष खेलाडीको कोरोना बिमा गरिएको स्पष्ट पारे । उनले महिलाको अहिले तत्तकाल बाहिर निस्कने कार्यक्रम नभएकोले महिला र पुरुष छ्ट्याएको नभई आवश्यकताको सिद्धान्त अनुरुपको प्रक्रिया थालिएको बताए ।

सरकारले यदि निषेधाज्ञा नगरेको भए भदौ १ बाट पुरुष टिमको प्रशिक्षण शुरु भईसक्ने थियो । त्यसैले पुरुष खेलाडीहरुको स्वास्थ्य सुरक्षा प्राथमिकतामा राख्दै पहिला पुरुषको गरेका हौ,’प्याकुरेलले भने,‘अहिले महिलाहरुको कुनै कार्यक्रम नभएके र उहाँहरु आ आफ्नै स्थानमा सुरक्षित बस्नुभएकेले मात्र महिलाको केही समयपछि गर्ने योजना बनाएका हौ ।’

क्यानले महिला खेलाडीहरुको पनि कागजपत्र माग्ने प्रक्रिया भने शुरु गरिसकेको महिला टालीकी सदस्य ईन्दु् बर्माले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :