ए डिभिजन लिग विजेताले ७५ लाख पाउने

काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग जित्ने विजेता क्लबले नगद ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नयाँ सिजनको लिगको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रममा उपाधि विजेताले ७५ लाख नगद पुरस्कार पाउने जानकारी दिएको हो ।

यस्तै उपविजेताले ५० लाख तथा लिगमा तेश्रो हुनेले २५ लाख नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउनेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिनेछ ।

एन्फाले यसअघि नै प्रत्येक लिग खेलको जित्नेलाई विनिङ्ग मनि बापत ५० हजार नगद दिईने समेत जनाएको थियो ।

यस्तै खेलको नतिजा बराबरीमा टुङ्गिए दुबै क्लबले २५–२५ हजार नगद पुरस्कार बाड्ने छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न लिगको खेल तालिकाको ड्र गरिएको हो ।

कार्तिक २९ गते पहिलो दिन हुने एकमात्र खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब खेल्न निश्चित भएको छ । यो खेल दशरथ रंगशालामा फ्लड लाईटमा साँझ ५ बजेबाट शुरु हुनेछ ।

सातदोबाटो बी डिभिजन लिगको विजताको रुपमा पहिलोपटक ए डिभिजन लिग खेल्न लागेको हो ।

एन्फाले जारी गरेको खेल तालिका अनुुसार सबै चरणमा सात सात वटा खेल हुनेछन् भने पहिलो चरणको खेल कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म हुनेछ । अहिलेलाई एन्फाले शुरुवाती दुई चरणको खेलको तालिकामात्र सार्वजनिक गरेको छ भने बाँकी चरणका खेलहरुको मिति पछि तय हुने बताईएको छ ।

ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् ।

यो पनि पढ्नुहोस्:पहिलो खेल फ्लड लाईटमा हुने गरी ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :