नेपाल अफगानिस्तानसँग फराकिलो हार बेहोर्दै बाहिरीयो

काठमाडौं । नेपाल एएफसी फुटसल एशियन कप छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बीबाट जितिबिहीन रहँदै बाहिरीएको छ ।

किर्गिस्तानको बिश्केकमा मंगलबार भएको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८-१ ले पराजित भएपछि जितबिहीन रहँदै प्रतियोगिताबाट बाहिरीएको हो ।

पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा ६ गोल बेहोर्दा एक गोल फर्कायो ।

हामिद रिजा हास्नेल र मोर्टासा मोहमदीले गोल गरेपछि पहिलो हाफमा अफगानिस्तानले २-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा अफगानिस्तानका लागि अब्दुल गाफरले तीन गोल गर्दा अलि अमिरी, रिजा कमिरी, सायद महदी हमिदीले एक एक गोल गरे ।

यस्तै दोस्रो हाफमा नेपालको तर्फबाट सुमित श्रेष्ठले एक गोल फर्काए ।

छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो ।

पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरको पराजय भोगेको नेपाल दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को भारी अन्तरले पराजित भएको थियो ।

यता अफगानिस्तानको यो पहिलो जित हो । पहिलो खेलमा ताजिकिस्तानसँग ४–४ गोलको बराबरी खेलेको अफगानिस्तानले दोस्रो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरको हार बेहोरेको थियो।

लगातार तेस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालको एशियन कप खेल्ने सपनामा पुर्णविराम लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :