रङ्गशालाको प्रवेशद्वारमा बनाइएको उल्टो ‘स्वस्तिक’ राखेपका पदाधिकारी र कर्मचारीले कहिले देख्ने?

लक्ष्मी शाक्य

‘स्वस्तिक’ अर्थात् ‘शुभ–लाभ’ जसलाई शुभको प्रतिकको रुपमा लिइन्छ । शुभ होस् भनेर नै विभिन्न स्थानमा ‘स्वतिक’ चिन्ह अङ्कित गर्ने प्रचलन रहदै आएको छ । आफ्नो घर होस् वा उद्योग व्यवसाय हामीले ‘स्वस्तिक’ चिन्ह प्रयोग गरेको देखेका छौं । शुभ होस् भन्ने हेतुले नै ‘स्वस्तिक’ चिन्हको प्रयोग गरिन्छ, गरिदै आएको छ र भविष्यमा पनि गरिने छ । तर त्यहि विशेष महत्वको ‘स्वस्तिक’ चिन्ह राष्ट्रिय खेलकुद परिषद (राखेप) का लागि भने ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ जस्तै बन्न पुगेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) परिसरमा अवस्थित अन्तर्राष्ट्रिय रङ्गशाला ‘दशरथ रङ्गशाला’ को मैदानमा प्रवेश गर्ने दोश्रो प्रमुख प्रवेशद्वारमा अङ्कित गरिएको ‘स्वस्तिक’ चिन्हले शुभलाई भन्दा अशुभलाई संकेत गरेको देखिन्छ । शहिद दशरथ चन्दको शालिकको निकट रहेको उक्त रङ्गशाला प्रवेश गर्ने प्रवेशद्वारमा स्वस्तिक चिन्ह उल्टो रुपमा बनाइएको छ । जसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली खेलकुदमा परेको विश्वास गर्न सकिन्छ।

‘दशरथ रङ्गशाला’ को मैदानमा प्रवेश गर्ने दाश्रो प्रमुख प्रवेशद्वारमा बनेको उल्टो ‘स्वस्तिक’, यस्तो हुन्छ सुल्टो ‘स्वस्तिक’ चिन्ह:

मूल ढोका अर्थात् प्रवेशद्वारमै स्वस्तिक चिन्ह उल्टो बनाएको देख्दादेख्दै पनि अहिलेसम्म सम्बन्धित निकाय राखेपले त्यसलाई सुल्टो पार्ने कार्य गरेको छैन । राखेपका पदाधिकारी र कर्मचारीहरुले देखेर वा नदेखेर, जानेर हो या नजानेर अहिलेसम्म यो कुरालाई नजरअन्दाज गर्दै आएको अवस्था छ । वास्तवमा यो ‘स्वस्तिक’ चिन्ह बनाएको गलत छ र यसलाई यथासिघ्र सच्याउन जरुरी छ।

प्रवेशद्वारको तीनवटा ढोकामा बनाइएका तीनवटै ‘स्वस्तिक’ अर्थात् ‘शुभ–लाभ’का चिन्हहरु उल्टो बनाइएको प्रस्ट रुपमा देख्न सकिन्छ । जुन कुरो मेरोखेल डटकमद्वारा प्रकाशित यसै समाचारमा प्रयोग भएको दुईवटा तस्वीरमा पनि प्रस्ट रुपमा देख्न सकिन्छ । स्मरण रहोस्, नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को क्रममा उक्त प्रवेशद्वार निर्माण भएको हो । विडम्बना, सन् २०१९ मा निर्माण भएको उक्त प्रवेशद्वारका ढोकामा बनाइएका ‘स्वस्तिक’ चिन्ह उल्टो भएको अहिलेसम्म अर्थात् पाँच वर्षसम्म पनि चाल नपाउने खेलकुदका पदाधिकारी र कर्मचारीहरु आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति कति सक्षम र सवल छन्, त्यसको पुष्टि समेत यो उल्टो ‘स्वस्तिक’ ले गरिदिएको छ ।

झ्वाट्ट हेर्दा यो सामान्य कुरा लाग्न सक्छ तर यसलाई सामान्य रुपमा कदापी लिन सकिदैन । यदि यो सामान्य कुरो हुँदो हो त सम्बन्धित निकायले प्रवेशद्वारमा गणेश र कलश लगायतका चिन्हहरु कदापी बनाउने थिएन । यी चित्रहरुले विशेष अर्थ राख्ने भएकाले नै प्रवेशद्वारमा यस्ता चिन्हहरु बनाइएका हुन् । त्यसैले यो राखेपको गम्भिर त्रुटी हो र सम्वन्धित निकायले यो गल्ती सच्याउनु जरुरी भइसकेको छ ।

राखेपमा विज्ञहरुको कुनै कमि छैन । उनीहरु बास्तुशास्त्रमा अँझै आफुलाई पोख्त र धुरन्धर मान्दै अन्यलाई चुनौंति दिन समेत पछि परेका छैनन् । तर प्रवेशद्वारमा बनाइएको ‘स्वस्तिक’ चिन्हमा यति ठूलो गल्ती हुँदा समेत उनीहरुको आँखा अहिलेसम्म यहाँ किन परेन? के यो स्थानमा पुग्दा खेलकुदका पदाधिकारी र कर्मचारीको आँखा बन्द हुन्छ, या आँखाका बिरामी बन्छन्? त्यो खुट्याउन गाह्रो भएको छ । यदि यहाँ पुग्दा राखेपका पदाधिकारी र कर्मचारीको आँखाले काम गर्न छाँड्ने भए, नजिकै रहेको आँखा अस्पतालमा उपचार गराएर आउँदा समेत फरक पर्ने छैन । गलत कुरो अँझ छर्लङ्ग तरिकाले देख्न मद्दत पुग्ने छ। अब राखेपले बत्तिमुनिको यो अँधेरोलाई चिर्न कुन शुभ साईत जुराएर पहलकदमी गर्छ, त्यो प्रतिक्षा गर्नु नै उपयुक्त होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :