आरबीबी-एनभिए भलिबलको पहिलो दिन आर्मी, पुलिस, कोशी र एभरेष्टको जित

काठमाडौं । आठौं संस्करणको आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषतर्फ तीन तथा महिलातर्फ एक गरि चार खेल सम्पन्न भएका छन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र कोशी प्रदेश तथा महिलातर्फ एभरेष्ट भलिबल क्लबले जित निकालेका छन्।

आर्मीले दिनको चौथो तथा अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को साेझाे सेटमा हराएको हो । समूह डि को खेलमा आर्मीले क्रमशः २९-२७, २५-१९, २५- १७ को जित निकाल्यो।

त्यसअघि दिनको तेस्रो खेलमा कोशी प्रदेशले ढोरपाटन क्लबलाई‌ ३-१ को सेटमा हराएको थियो। समूह ए अन्तर्गको खेलमा पहिलो सेट २३-२५ ले गुमाएको कोशीले त्यसपछिका तीन सेट लगातार २५-२०,२५-१८ र २५-१९ ले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई‌ क्रमशः २५-९,२५-१३ र २५-१३ गरि ३-० को सेटमा हराउँदै च्याम्पियनसिपमा विजयी शुरूवात गरेको थियो।

शनिबार बिहानै भएको दिनको पहिलो खेलमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले सहज जितसँगै च्याम्पियनसिपमा विजयी शुरूवात गरेको थियो।

समूह ए को खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई २५-१२,२५-७ र २५-११ गरि ३-० को साेझाे सेटमा पाखा लगाएको थियो। एभरेष्टमा अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीकी चर्चित मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसन आवद्ध छन्।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ।

जसमा पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

यस्तै महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश छ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले समान १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :