अन्यौलमा ‘ए’ डिभिजन लिग

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्यौलमा परेको छ । बढ्दो लकडाउन तथा निषेधाज्ञा र कोरोनाको जटिलताले वर्ष २०७७ को शिर्ष ‘ए’डिभिजन लिग अन्यौलमा देखिएको हो । कोरोना महामारीका कारण एन्फाको क्यालेन्डर सहित ‘ए’ डिभिजन लिग प्रभावित बन्न संकेत देखिएको हो ।

कोरोना महामारीका कारण रोकिएको ‘बी’ डिभिजन लिगका बाँकी खेल र ‘सी’ डिभिजन सुरु गर्न मुस्किल देखिएको छ, जसका कारण यो बर्षको शिर्ष डिभिजन लिग नहुने संभावना धेरै छ । कोरोनाका कारण बर्ष २०७६ मा सञ्चालनमा आएको ‘बी’ डिभिजन लिग पुरा नहुँदै रोकिएको थियो भने सुरु नहुँदै ‘सी’ डिभिजन स्थगित भएको थियो ।

गत वर्षको लिग सर्कल पुरा नभएपछि यो बर्ष हुनुपर्ने ‘ए’ डिभिजन लिग सञ्चालनका लागि धेरैनै मुस्किल रहेको कतिपयको बुझाई छ । कोरोना महामारीले नराम्रोसँग प्रभावित फुटबल क्यालेन्डर अनुसार गत बर्षको सर्कल पुरा गराउन समय लाग्ने देखिएको कारण यस वर्षको ‘ए’ डिभिजन लिग नहुने सम्भावना बढी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए ।

‘सर्कल सम्पन्न भएपछि ‘ए’ डिभिजनका बारेमा सोच्ने हो । हामीलाई कोरोनाको प्रभावसँगै अब फुटबल प्रतियोगिता सञ्चालन गराउन निकै कठिन छ’, महासचिव तुलाधरले भने, ‘सबै भन्दा पहिले बाँकी रहेका प्रतियोगिता पुरा गर्ने तयारी रहन्छ ।’

उनका अनुसार बाँकी रहेका लिग खेल पुरा गर्न निकै चुनौती छ । कोरोनाको प्रभावसँगै तत्काल फुटबल सुरुगर्ने माहौल छैन, तर बर्ष २०७७ मा सम्पन्न गर्नुपर्ने बिभिन्न प्रतियोगिताको मिति नजिकिँदैछ । कोरोनाको प्रभावसँगै बर्ष २०७६ मा पुरा हुन नसकेका ‘बी’ र ‘सी’ डिभिजन पनि यही बर्ष सम्पन्न गराउनुपर्ने बाद्यता छ । जसकारण २०७७ को लिग हुने नहुनेको अन्यौलता बढेको हो ।

यो पनि पढ्नुहोस्ः  नेपाली क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय सहभागिता: २ दशक लामो क्षण

एन्फाले यो बर्ष राष्ट्रिय लिग सहित, ‘ए’ डिभिजन लिग, ‘बी’ र ‘सी’ डिभिजन लिग, प्रदेश लिग लगायतका प्रतियोगिता सञ्चालन गर्नुपर्नेछ ।

‘कोरोना प्रभाव नभएको भए बाँकी रहेका प्रतियोगिता सम्पन्न हुने र नयाँ प्रतियोगिताको लागि मिति तय गर्नेकाम सम्भवतः सकिथ्यो’, तुलाधरले भने, ‘अब नयाँ योजना अनुसार अघि बढ्दा राष्ट्रिय लिग र ‘ए’ डिभिजन लिग मध्धे १ मात्र हुने सम्भावना छ ।’

‘कोरानाको प्रभाव कहिले नियन्त्रणमा आउँछ र सरकारले फुटबल सञ्चालनका लागि कहिले अनुमती दिन्छ भन्ने बिषयले पनि प्रतियोगिताको मिति निर्धारण र तालिका निर्माणमा सहयोगी भुमिका खेल्ने छ’, तुलाधरले बताए ।

‘अहिलेकै अबस्थामा २०७७ सालको ‘ए’ डिभिजन लिग नहुने सम्भावना धेरै छ । अघिल्लो सर्कल पुरा भएको छैन । सिजनका बाँकी खेल सकिएका छैनन् । ‘बी’ र ‘सी’ डिभिजनका खेल, राष्ट्रिय लिग, एन्फाको क्यालेन्डरमा रहेका महिला लिग सहितका कतिपय प्रतियोगिता, युथ डेभलपमेन्ट प्रोग्राम, उमेर समुहका बिभिन्न प्रतियोगिता सक्न एन्फालाई यो बर्ष मुस्किल छ ।’ तत्काल कोरोना नियन्त्रणमा नआएको र फुटबल गतिविधि सुरु गर्न नसकेको प्रसंग सुनाउँदै तुलाधरले भने ।

एन्फाले दसैंसम्ममा कोरोना नियन्त्राणमा आए वा नआए पनि फुटबलका लागि सहज अबस्था बने फुटबल गतिविधि सुरु गर्ने योजना बनाएको छ । एन्फाले अहिले पनि सम्बन्धित पक्षलाई फुटबल सञ्चालन गर्न तयार रहेको बताएको त छ, तर सञ्चालन अनुमती पाउने सम्भावना छैन । त्यसैले रोकिएका ‘बी’ र ‘सी’ डिभिजन लिग र रोकिएका अन्य केही प्रतियोगिताका लागि दसैं तिहारपछिको समय उपयुक्त हुने ठहर सहित एन्फाले योजना बनाउन सक्ने तुलाधरले जानकारी दिए ।

एन्फाले मंसिर – पषको समयमा ‘ए’ लिग सञ्चालन गर्ने गरेको छ । दसैं तिहारपछि लगत्तै फुटबल सुरुभए तथा बाँकी रहेका प्रतियोगिता केही महिनामा सकिए तालिका केही महिना पर जाने छ र ‘ए’ लिग सम्पन्न गर्न सहज देखिने छ, तर एन्फाले बर्ष २०७७ का प्रतियोगिता तथा गतिवधि पनि चैत्र महिना भित्र सम्पन्न गरिसक्नुपर्नेछ । सिजनका बाँकी खेल सक्काउन एन्फासँग चैतसम्मको समय छ । मंसिर–पुस तिर ‘ए’ डिभिजन लिग सुरु गर्नुपर्नेछ । ‘ए’ डिभिजन लिग सुरु गर्नु पूर्व ‘बी’, ‘सी’ सक्न आवस्यक छ ।

यो पनि पढ्नुहोस्ः  चोटिल रोनाल्डोको एकसयौ अन्तराष्ट्रिय गोल कहिले होला पूरा ?

‘बाँकी लिग नै नसकि ‘ए’ डिभिजन लिन गर्न मिल्दैन’, तुलाधरले भने, ‘ यो बर्षको ‘ए’ डिजिन लिग सुरु गर्नुअघि बाँकी प्रतियोगिता सक्ने अवस्था नरहे तथा ‘ए’ लिग गर्दा अन्य प्रतियोगिता नहुने जस्तो अबस्था देखिए एन्फाले सोच्ने छ । सबै प्रतियोगिता रोकेर ‘ए’ डिभजिन मात्र सञ्चालनमा आउने सम्भावना भने नरहने उनले बताए ।

‘तत्काल एन्फाले फुटबल गतिवधि र प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न सक्ने अबस्था छैन । हामीले पहल गरे पनि सरकार र एएफसीले फुटबल सुरुगर्न अनुमती दिदैनन्’, कोरोनाका कारण प्रभावित फुटबलबारे बोल्दै तुलाधारले भने, ‘हामी पर्ख र हेरको अवस्था छौं । सकेसम्म सबै प्रतियोगिता सञ्चालनमा जुट्नेछौं ।’


‘हामीले बारम्बार भनेका हौं फुटबल सुरुगर्न अनुमती दिनुस्, हामी बन्द रंगशालामा फुटबल खेलाउन तयार छौं’, तर तत्काल त्यो सम्भावनाको ढोका समेत सम्बन्धित पक्षले बन्द गरिदिएकोले फुटबलको तालिका नराम्रोसँग प्रभावित हुने निश्चित देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :