सरोज र जुनिताले प्राप्त गरे प्रथम स्थान

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको सातौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पुरुषतर्फ सरोज मानन्धर र महिलातर्फ जुनिता श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् ।

हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा यसपटक विजेता  बनेका सरोजले १० हजार र जुनिताले ७ हजार नगद पुरस्कार प्राप्त गरे ।

खुला रुपमा क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने सरोजले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५०.२८ किलोग्राम तौल उचालेका थिए ।

त्यस्तै, दोस्रो हुने दिलेन्द्र महर्जनले ३ सय ४५.०६ केजी र तेस्रो हुने सन्तोष गिरीले ३ सय २०.३६ केजी तौल उचालेर क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।त्यसैगरी, महिलातर्फ प्रथम हुने जुनिताले २ सय १३.१३ किलोग्राम उचालेकी थिइन् ।

दोस्रो हुने एनी सायराले १६०.६३ केजी र तेस्रो हुने पूजा सुनुवारले १४६.३६ केजी भार उचालेकी थिईन्। महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमश: पाँच र तीन हजार नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी डेमोस्ट्रेसन प्रतिस्पर्धाको रुपमा खेलाइएको डेडलिफटको मात्र एकल स्पर्धामा सर्वाधिक २ सय १० केजी भार उचालेर सविन परियारले नगद १० हजार पुरस्कार जित्न सफल भए ।

विजेताहरुलाई प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा काठमाडौं १७ वडाका अध्यक्ष नवीन मानन्धर, विशेष अतिथि काठमाडौं २७ वडाका अध्यक्ष योगेश खड्गी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, प्रथम मिस्टर नेपाल तथा ब्यायाम मन्दिर डाइरेक्टोरियल काउन्सिलका शिवलाल श्रेष्ठ लगायतले नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :