नेपाली टेनिसकि धरोहर रेणु कोण्डाको अविष्मरणीय खेल कहानी

लक्ष्मी शाक्य

वि.सं २०४० को दशकको करिब करिब मध्यसम्म उनी खेल भन्दा नितान्त फरक विधामा आवद्ध थिइन् । सो समयमा उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रशासन शाखामा कार्यरत थिइन् । १९ वर्षको युवा उमेरमै खेलकुदमा जागिर खान पाएकोमा मख्ख पनि थिइन्, उनी । जागिरसँगै पढाईलाई निरन्तरता दिइरहेकि उनी त्यो समयमा खेलाडी जीवनदेखि भने अनविज्ञ थिइन् । खेलकुदमा लाग्ने र खेलाडी बन्ने उनको कुनै सोच पनि थिएन । र पनि, सामान्य महिलाहरुको भन्दा राम्रो हाइट र नेपाली खेलकुदमा महिला खेलाडीहरुको अभाव खड्किरहेको असमान्य अवस्थामा भिन्न ढङ्गबाट उनको खेलकुदमा पदार्पण भएको थियो । जुन आफैमा अकल्पनिय थियो ।

२०४४ सालतिरको समय हो, उनले राखेपको कार्यालय नजिकै रहेको पौडी पोखरीको साइडमा खाजा खान जाने क्रममा आफ्नै उमेर समुहको व्यक्तिहरुले टेनिस खेल्दै गरेको देखिन् । त्यो दृश्यले उनको मानसपटलमा छुट्टै कब्जा जमायो । प्राय दैनिक जसो उक्त दृश्य देखिन थालेपछि टेनस खेलप्रति उनी आकर्षित हुँदै गइन् । शारीरिक बनावटको हिसाबले खेल सुहाउँदो शरीर हुँदा प्रशिक्षक मधुको सल्लाह अनुसार उनी टेनिसमा अवतरण गर्न पुगिन् ।

जागिर, पढाई र खेलको आपसमा तालमेल मिलाउन त्यसबेला उनको लागि चुनौंति बन्यो । तर जहाँ इच्छा त्यहाँ उपाय हुन्छ भने झैं पढाई र जागिरबाट फुर्सद मिलेको समयममा उनी टेनिस खेल्न थालिन्। तत्कालिन समयमा नेपालमा महिला टेनिस खेलाडीहरुको संख्या औंलामा गन्न सकिने मात्र थियो । त्यसैले टेनिसमा पदार्पण गर्नु उनको लागि चुनौंति र अवसर दुवै थिए । त्यसपछि प्रशिक्षक मधुकै मार्गदर्शनमा उनले शुरुमा एक महिना टेनिस खेलको प्रशिक्षण लिइन्।

महिना दिन टेनिसको प्रशिक्षण लिएपछि उनी टेनिसको नसामा चुर्लुम्म डुब्न पुगिन्, अर्थात् टेनिससँग अनौंठो किसिमको माया बस्न पुग्यो । टेनिस बिना सबै अरुचि लाग्न थाले । त्यसपछि उलझनमा परेकि उनले धेरै दिनको सोचविचार पछि पढाई, जागिर र खेललाई एकै साथ सँगै अघि बढाउने निर्णयमा पुगिन् । उनले यस्तो निर्णय लिदा सबैभन्दा चुनौंतिको विषय समय व्यवस्थापनको थियो । जस्लाई तीन तिर समायोजन गर्न निकै कठिन थियो । तर आटिलो स्वभावकि उनले कतिपनि विचलिन नभई सबैतिर उत्तिकै समय दिदै आफ्नो गन्तव्यतर्फ लागिन् । साँझ पाँच बजे अफिस सकिएपछि उनले करिब २ घण्टा त्रिपुरेश्वरस्थित शरथ रंगशालामा टेनिसको अभ्यास गर्न थालिन् । यसरी अनौठो परिवेशबाट टेनिसमा होमिएर राष्ट्रिय टेनिस खेलाडीदेखि मुख्य प्रशिक्षक बन्न सफल भएकि उनी हुन्, ‘रेणु कोण्डा’।

टेनिस खेलको शुरुवाती चरणमा रेणुले किङ्गस् बर्थडे कप, टुबोर्क कप, काल्स बर्ग, चार्टर कप लगायतका विभिन्न घरेलु प्रतियोगितामा सहभागिता जनाउने अवसर पाइन् । ति प्रतियोगिताहरुमा उनको प्रदर्शन सन्तोषजनक नै रह्यो । केहि प्रतियोगिताहरुमा रेणुले सेमिफाइनलसम्मको यात्रा तय गर्न समेत सफल भइन् । तर त्यो समयमा वर्षमा एक दुईवटा मात्र टेनिसका प्रतियोगिता हुने भएकाले आफ्नो प्रतिभा देखाउन वर्षौ कुर्नुपर्ने बाध्यताले गर्दा उनी सोचे बमोजिमको प्रतिभा प्रदर्शन गर्न असमर्थ भइन् ।

अँझ उनको पालामा महिलातर्फ राष्ट्रिय टेनिस प्रतियोगिताको आयोजना नै हुँदैनथ्यो । यहि कारण टेनिसको आशलाग्दो खेलाडी भएर पनि रेणुले राष्ट्रिय प्रतियोगिता नै खेल्न पाइनन् । र पनि, उनले आफुलाई टेनिसमा स्थापित गर्न कुनै कसर बाँकि राखेनिन् । टेनिसमा प्रतियोगिताको अभावका कारण रेणुले बेलाबेलामा सफ्ट टेनिस पनि खेल्न थालिन् । सफ्ट टेनिस खेल्दै गर्दा उनले राष्ट्रिय र अन्तर्राष्ट्रि दुवैमा प्रतिस्पर्धा गर्ने अवसर पाइन् । जुन उनको खेल जीवनको नौंलो अध्याय समेत बन्न पुग्यो ।

खेलकुदको तराजुमा तौलिदा अर्थात् टेनिस र सफ्ट टेनिसको विश्लेषण गर्दा यी दुई खेल एक सिक्काका दुई पाटा थिए । दुवै खेल एकै प्रकृतिको भएकाले रेणुलाई दुवै खेल खेल्न कुनै कठिनाई भएन् । त्यसैले रेणुले सफ्ट टेनिसका प्रशिक्षक किशोर राईसँग प्रशिक्षण लिइन् । टेनिसको तुलनामा सफ्ट टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु बढी हुने भएपनि नेपालमा महिला खेलाडी भेटिन भने ज्यादै गाह्रो पर्दथ्यो । त्यसैले रेणुले आफ्नो क्षमताले भ्याएसम्म दुवै खेलमा प्रतिस्पर्धा गर्दै आफ्नो खेल जीवनलाई अगाडि बढाई रहिन् ।

रेणुले २०५२ सालमा पोखरामा भएको सफ्ट टेनिसबाट राष्ट्रिय प्रतियोगितामा आगमन गरेकि थिइन् । उक्त प्रतियोगितामा वरीयता क्रममा दोश्रो स्थानमा रहेकी खेलाडी सुनिमा पाण्डेलाई हराएर अन्तिम आठ सम्मको यात्रा तय गर्न समेत सफल भएकि थिइन् । दुर्भाग्य खेलकै क्रममा रेणुको मसल्स क्राइम भएपछि बाँकी खेलहरु भने खेल्न सकिनन् । उक्त राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि रेणुले सन् १९९३ र ९४ मा जापानमा भएको वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएकि थिइन् । साथै सफ्ट टेनिसबाटै उनले बैङ्कक र कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न पाएकि थिइन् ।

सफ्ट टेनिसमा अन्तर्राष्ट्रिय खेलाडीको अनुभव समेत बटुलेकी रेणुले सफ्ट टेनिसमा आफ्नो भविष्य देख्न भने सकिनन् । टेनिसको प्रतियोगिता नभएको समयमा सफ्ट टेनिस खेलेपनि पछि उनले टेनिसलाई मात्र समय दिन थालिन् । नेपालको सन्दर्भमा सफ्ट टेनिस जापानी अनुदानको भरमा चल्दै आएको खेल हो । अहिले पनि सफ्ट टेनिसका लागि बल तथा र्याकेट जापान र कोरियाबाट नै ल्याउनुपर्ने बाध्यता छ। अहिलेको समयमा पनि नेपाली बजारमा सफ्ट टेनिसका लागि आवश्यक खेल सामग्री सहजै उपलब्ध हुन नसक्ने रेणुको कथन छ ।

राखेप अन्तर्गत प्रशासन शाखामा ८ वर्ष बिताउँदा रेणु टेनिसकि परिचित खेलाडी बनिसकेकि थिइन् । लामो अन्तर संघर्षपछि २०५३ सालमा रेणु राखेपबाट समान पदमा टेनिसको सहायक प्रशिक्षक भइन् । उनलाई तत्कालिन राखेपका सदस्यसचिव किशोरवहादुर सिंहले समान पदमा राखेप अन्तर्गत टेनिसको सहायक प्रशिक्षकमा बढुवा गरेर ठूलो गुन लगाएका थिए । प्रशिक्षकमा नियुक्त हुनुभन्दाअघि टेनिस र सफ्ट टेनिस दुवै खेल्दै आएकि रेणुले त्यसपछि भने टेनिसलाई नै पहिलो प्राथमिकतामा राखिन् । र, टेनिसमै भविष्य बनाउनेतर्फ लागिन्।

त्यसपछि टेनिसका मुख्य प्रशिक्षक ईश्वर राईको अण्डरमा रहेर प्रशिक्षण दिन शुरु गरिन् । केहि वर्ष सहायक प्रशिक्षकको भूमिका निभाएपछि रेणु २०५५ मा टेनिस प्रशिक्षण तालिम लिनका लागि भारतको पटियाला गइन् । पटियामा एक वर्षको प्रशिक्षण तालिम लिएर फर्किपछि भने उनी पूर्ण प्रशिक्षक बनिन् । यस बाहेक रेणुले टेनिस प्रशिक्षण सम्बन्धि अन्य तालिमहरु लिएर थुप्रै अनुभव बटुल्न सफल भएकी छिन्।

पहिले खेलाडी जीवन बिताएर त्यसपछि विभिन्न तालिम लिदै प्रशिक्षक पेशामा होमिएकि रेणुले पटियालाको तालिमपछि टेनिसप्रतिको आफ्नो बुझाईमा धेरै परिवर्तन पाइन् । आफू जीउनुको सार्थकता नै टेनिसलाई मान्ने रेणु नेपालमा पनि यस खेललाई व्यवसायिक ढाँचामा परिणत गर्दै लैजाउनु पर्ने विचार राख्छिन् । यो विचारलाई सार्थक रुप दिन पटियालाको तालिमले निकै सकारात्मक भूमिका खेलेको उनको ठम्याई छ । सो तालिमपछि उनले टेनिसको अन्तर्राष्ट्रिय र आधुनिक नियमहरु बारे राम्रो ज्ञान हासिल गरिन् । सोहि तालिम अनुसार उनले नेपाली खेलाडीलाई एक सक्षम प्रशिक्षकको रुपमा प्रशिक्षण गराउन थालिन् । यसरी नेपालमा उनी नयाँ पुस्ताका महिला खेलाडीहरुको लागि प्रेरणाको श्रोत समेत बन्दै गइन् ।

वि.सं.२०२५ साल मंसिर ९ गते भक्तपुरमा आमा पूर्णकेशरी कोण्डा अनि बुबा इन्द्रलाल कोण्डाको कोखबाट जन्मिएकि रेणुले आफूलाई इच्छा लागेको क्षेत्रमा कामका लागि परिवारको सधैं राम्रो साथ पाइन्। कर्मघरमा गएपछि पनि उनले खेल क्षेत्रबाट अलग भएर बस्नु परेन । यसो त उनको श्रीमान पनि खेल क्षेत्र अर्थात् टेनिस क्षेत्रकै भएर पनि रेणुका लागि पारिवारिक, खेलकुद लगायत सम्पूर्ण जिम्मेवारी निभाउन सहज भयो ।

२०४४ सालमा दशरथ रंगशालामा टेनिस सिक्न शुरु गर्दैगर्दा रेणुको जम्काभेट राखेपमै कार्यरत साम सूर्यभुषण बज्राचार्यसँग हुनपुग्यो । शुभारम्भमा नजानेका कुरा एकअर्कालाई सिकाएर साथी बनेका उनीहरुको सम्बन्ध पछि प्रेम सम्बन्धमा परिणत भयो । फिल्ड एउटै प्राय सबै कुरा मिल्दोजुल्दो भएपछि उनीहरुले आफूहरु साथीमात्र नभई जीवन बन्ने योजनाका साथ प्रेम सम्बन्धमा बसे । करिब १० वर्षको प्रेमसम्बन्ध पछि उनीहरु २०५६ मा बिबाह बन्धनमा बाँधिए । वर्तमान समय श्रीमान श्रीमतीनै टेनिस प्रशिक्षकको भूमिकामा कार्यरत रहँदै आएका छन् । यी दम्पतीको दुई छोराहरु संरक्षक भुषण बज्राचार्य र समेक भुषण बज्राचार्य छन् ।

बुबा आमा नै खेलकुद प्रशिक्षक भएपनि सबैको छोराछोरी खेलाडी नै बन्छन्, भन्ने हुँदैन । नेपाली खेलकुद परिवेशमा प्राय कमै खेलकुद प्रशिक्षकका छोराछोरी खेलाडी भएको हामी देख्न पाउँछौं । यस्तोमा रेणु दम्पतीका दुवै छोराहरु टेनिस खेलाडी बन्नु आफैमा संयोग भने होइन, उनीहरुको टेनिसप्रतिको लगाव नै प्रमुख कारण हो । त्यसैले प्रशिक्षक भएर आफ्नो छोराहरु पनि खेलाडी नै हुन्, भन्न पाउँदा रेणु निकै गर्व गर्छिन् ।

रेणुसँगै उनका श्रीमान साम पनि टेनिस क्षेत्रमै भएकाले उनीहरुले एकअर्काको छलफलपछि नेपाल टेनिस संघसँगको सहकार्यमा २०६४ सालमा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) कार्यक्रमको अवधारणा ल्याएका थिए । जुन कार्यक्रममा ८ देखि १४ वर्ष सम्मका खेलाडीहरुलाई समावेश गरिएको थियो । शुरुमा जम्मा सात जना खेलाडीबाट शुरु गरेको उक्त कार्यक्रमले अहिलेसम्म पनि निरन्तरता पाउँदै आएको छ।

राखेपका प्रशिक्षकहरुको पहलमा संचालनमा आएको यो कार्यक्रम अहिले पनि हप्ताको तीन दिन सञ्चालन हुँदै आएकोे छ । जेटीआई कार्यक्रममा हाल ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको छ । नेपालको टेनिसको नम्बर वान खेलाडीहरु उत्पादनमा जेटीआई कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । यति मात्र नभई यस कार्यक्रमलाई नेपालमा टेनिस खेलको विकासको लागि ग्रासरुट लेभलको पहिलो र महत्वपूर्ण कार्यक्रमको रुपमा समेत हेरिदै आएको छ ।

टेनिसलाई सामान्य अर्थमा बुझ्दा आर्थिक अवस्था बलियो भएको परिवारको व्यक्तिहरुले खेल्ने खेलको रुपमा लिइन्छ । किनकी नेपाली खेलकुद परिवेशमा यस खेलको बल, र्याकेट, कोर्ट फि लगायत सम्पूर्ण खेल सामग्री निकै नै महङ्गो पर्छ । टेनिस एक महङ्गो खेल हो भन्ने कुरा प्रशिक्षक रेणु पनि स्विकार गर्छिन् । तर आफु नेपालमा यस खेललाई सहुलियतको रुपमा विकसित गराउन प्रयासरत रहँदै आएको उनी बताउँछिन्।

वर्तमान समयसम्म आईपुग्दा नेपाली टेनिसमा सिमित परिवार र व्यक्तिहरुको मात्र पहुच रहँदै आएको सत्यता हामी माझ छ । प्रशिक्षक रेणु भने यस्तो हुनुमा नेपालमा यस खेलको प्रचार प्रसार शून्य हुनुलाई मुख्य समस्या मान्छिन् । यस्तो समस्याले गर्दा राम्रो र प्रतिभावान खेलाडी पनि छायाँमा पर्दै आएको उनको बुझाइ छ । साथै अन्य खेलमा जस्तै टेनिसमा पनि सर्वसाधरणको पहुँच पुर्याउनका लागि नेपाल टेनिस संघले अझै सक्रियताका साथ आफ्नो कार्ययोजनाहरु अघि बढाउनुपर्ने प्रशिक्षक रेणुको धारणा रहेको छ ।

रेणुको कथा एकादेशको कथा जस्तै लाग्ने भएपनि उनले कर्मचारी, खेलाडी, प्रशिक्षक र अभिभावकको रुपमा निभाएको भूमिका आफैमा तारिफयोग्य छ । त्यसैले रेणु आफुले आफैलाई एक सफल महिलाको रुपमा चिनाउन चाहन्छिन् । उनलाई यस्तो भन्न उनको कर्मले दिएको छ । जुन आफैमा प्रशंसा गर्न लायक छ । जेठो छोरा संम्रक्षकलाई १४ वर्षको उमेरमै नेपालको नम्बर एक टेनिस खेलाडी बनाउनु चानचुने कुरा थिएन् । जुन कुरा रेणुले गरेर देखाएकि छिन् । रेणुका छोरा संम्रक्षक हाल टेनिस खेलकै सिलसिलामा अमेरिकामा रहँदै आएका छन् ।

रेणु दम्पती नै वर्तमान समय नेपालमा आयोजना हुने टेनिस प्रतियोगिताहरुमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । यस्तै उनीहरुले २०७६ सालमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलुकद (साग) मा समेत प्रशिक्षणको भूमिका निभाएका थिए । उनीहरुको नेतृत्वमा नेपालले १३ औं सागमा टेनिसबाट सिङ्गल्स र डबल्समा गरि पाँच वटा कास्य पदक जितेको थियो । यस्तै प्रशिक्षक रेणुले छैठौं संस्करणदेखि राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत प्रशिक्षकको भूमिका निभाउँदै आएकि छिन् ।

टेनिस खेलको विकास र विस्तारका लागि ३५ वर्ष बिताईसकेकि रेणु आफ्नो जीवनको सबैभन्दा खुसीको क्षणको रुपमा सातौं राष्ट्रिय खेलकुदमा छोराले आफूभन्दा सिनियर खेलाडीहरुलाई हराएर राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दाको समयलाई मान्छिन् । टेनिसको राष्ट्रिय प्रतियोगिता खेल्न नपाएकि रेणु छोराले राष्ट्रिय प्रतियोगतामा स्वर्ण जित्दाको त्यो क्षणलाई अहिले पनि आफैले पदक जिते महसुस गरेको समयको रुपमा सम्झिन्छिन् ।

यस्तै उमेरले ५२ औं वसन्त पार गर्दै गरेकी रेणु भविष्यमा नेपालमा टेनिस खेलको चौतर्फी विकासका लागि नयाँ र दिर्घकालिन कार्यक्रको शुरुवात गर्ने योजनामा छिन्। जसअन्तर्गत आर्थिक रुपमा कमजोर भएका तर प्रतिभाशाली खेलाडीहरुलाई विभिन्न पक्षबाट सहयोग गर्ने, खेलसँगै विदेशमा अध्ययनका लागि छात्रवृतीका लागि पहल गर्ने उनको प्रमुख योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :